विवश प्रभु !

लघुकथा 

प्रभुको मन्दिर, भक्तहरूको भीड । प्रभु पनि कन्फ्युजमा,सक्कली भक्त नचिनेर । यही भएर प्रभु १०००००० वर्षाैदेखि  मौन थिए। एउटा चमत्कार भयो मन्दिरमा, एउटा वैशाखनन्दन पनि प्रभुको भक्तिमा लीन, दीनहीन देखिन्थ्यो। भक्तहरूले यता ध्यान दिएनन्। आफ्नै अनेक तानाव, कोही GPA 4  को लागि,कोही PR को लागि,कोही नोकरीको लागि, कोही ठेक्काको लागि,कोही छन्द कविताको पीर, कोही बहर र गजलको पीर, कोही भीसाको पीर, अनेक भक्त, अनेक माग, प्रभु विवश, मौन रहन। १२ बजे राति,नीरवता। वैशाखनन्दन मात्र, एक्लो,उदास थियो, धोबीको पनि अत्तोपत्तो थिएन । कुन सीतापतिको निन्दा उद्योगमा व्यस्त थियो। दया लाग्यो प्रभुलाई। आए,पत्थर रूप त्यागी,मनुज बनेर।

“भक्त वैशाखनन्दन,म खुसी भएँ। वरदान माग। ” प्रभु बोले।
“हा हा हा, चुनाव आयो ? किन नेता हजुर ? झापाली ? गौर ? कि गजलको शेर ? किन प्रभु बनेको ? म नेपाली जनता हुँ र झुक्किने ? कुन नेता ? बरु म दिन्छु वरदान !” वैशाखनन्दन पनि बोल्न सिपालु। “आम्मै,पत्याएन हौ, यसले त नपत्याउने,अनि मान्छेले कति पत्याउने ? किन पत्याउने ? नास्तिक बन्नु स्वाभाविक हो। ” यति सोचे प्रभुले र विराटस्वरूपको दर्शन दिए। पत्यायो। शिर झुकायो। बोल्यो,” प्रभु,म अर्को जुनीमा पनि वैशाखनन्दन नै हुन्छु। ” 
मुस्कुराए प्रभु,बोले,” अरे भक्त,हामी विधानमा दुई दुई पटक उही हुन पाइन्न,नेपालको प्रधानमन्त्री हो र ? अरू कुनै रोज !”
“त्यसो भए पति बन्न पाऊँ प्रभु!”
“ ह्या, त्यो पनि उही हो। अर्को माग ! ”
“चाहिएन प्रभु तिम्रो वरदान ! यस्ता पनि ईश्वर अरे ! ”
“ मूर्ख !” यति भनेर प्रभु अलप भए। वैशाखनन्दन पनि आफ्नै धुनमा। उज्यालो भयो। भक्तहरू आउनथाले, ठूलो भाग खान।