मान नभएका माननीय

फोटो गुगलबाट सााभार

मान गर्नु पर्नेलाई माननीय भनिन्छ । भन्नु पर्ने पनि यही हो । जसको आदर, सत्कार र मान बेग्लै हुन्छ । अझ बाटोमा हिड्दा एक दुई जना अगाडि पछाडि लगाएर हिडेको देख्छौं । हामीले अलि परबाट बुझ्ने माननीय भनेका यस्तै व्यक्ति हुन् ।
अचेल माननीयहरूको धाक र रवाफ त बढेको देखिन्छ । तर, माननीयको उपाधि भने बिस्तारै तिरस्कार हुँदै गइरहेको छ । यो क्रमले अग्लो यात्रालाई छाडेर गहिराइ खोजिरहेको छ भन्दा फरक नपर्ने अवस्था आइसकेको छ ।
पहिलेका माननीय जनताका कुरा सुन्थें । उनीहरूका आवश्यकताका आधारमा योजना र कार्यक्रम बनाउथे । यसो गर्दा जनताले उनीहरूलाई विश्वास गर्थे । अर्को पक्षबाट हेर्ने हो भने ती केन्द्रबाट जाने र गएका योजना जनताका हुन्थे । त्यहाँ जनश्रमदान जुट्थ्यो र समयमा काम सकिन्थ्यो पनि । आजको समयमा योजना नेताको फाइदाका लागि हुन्छन् । त्यसैले श्रमदान जुटाउन गाह्रो पर्छ ।
अहिलेका माननीय पनि जनताकै काम गर्छन् । तर पहिला आफ्नो फाइदा हेर्छन् । पहिले र अहिलेका माननीयमा फरक यही हो । अहिलेका माननीयलाई बजारमा ‘माननीय’, ‘ताननीय’, ‘हाननीय’, ‘टिकनीय’, ‘बिकनीय’ आदि नामले पनि पुकारेको पाइन्छ । यसको अर्थका बारेमा बिस्तारमा चर्चा गरौं ।
माननीयको चर्चा माथि गरियो । अब ताननीयको बारेमा चर्चा गरौं । चुनावमा जनमत पाउन नसक्ने तर पनि सांसद बन्नका लागि बखेडा झिक्ने र जसरी पनि माननीय बन्नेलाई ताननीय भनिएको छ । अर्कोतर्फ सरकारमा बहुमत पु¥याउनका लागि भेडाबाख्राको मूल्यमा बिक्री हुने चरित्र पनि ताननीय नै हुन् । यिनीहरूलाई स्वार्थपूर्तिका लागि प्रयोग गरिन्छ । यिनीहरूको बुद्धि त हुन्छ तर ज्ञान हुँदैन ।
ताननीय कुरा गरौँ । सांसद एउटा सम्मानको पद हो । त्यही भएर सांसदलाई काममा सहयोग गर्न सजिलो होस् भन्ने हेतुले स्वकीय सचिव दिइएको हुन्छ । तर, त्यो स्वकीय आफ्नो परिवारको, त्यो नभए नातेदार राख्ने गरिन्छ । हो, यसरी आफ्नो मान्छेलाई माथि लाने पद भएकाले यसलाई ताननीय भनिएको हो ।
हाननीय किन भनिएको हो भन्ने लाग्न सक्छ । हाननीय भनेको निहुरिएर आफ्नो जुत्ताको तुनो पेटका कारण बाँध्न नसक्ने तर परिआएको बेला संसद्मा कुर्सी, टेबुल र माइकले हान्न सक्ने भएकाले यो पदवी मानार्थको रूपमा दिइएको हो । संसद्मा प्रतिपक्षलाई तानातान गर्ने र कोट च्यात्ने, मर्यादापालकलाई तानातान गरेर पछार्न सक्ने क्षमता यिनीहरूमा हुन्छ । यिनीहरू तोडफोड र कसैको अपहरण गर्ने काममा पनि सक्रिय हुन्छन् ।
हाननीयको अर्को काम प्रतिपक्षको विरोध गर्ने र रेलिङ भाँच्ने, नाक कोपर्ने आदि पनि हो । यो कामका लागि उनीहरूका सहयोगी पनि हुन्छन् । यिनीहरू आफैँ कानुन बनाउँछन् तर कुनै कानुन मान्दैनन् । कारण यिनीहरूलाई राज्यले नै संरक्षकको सुविधा दिएको हुन्छ ।
यता पनि ठीक्क र उता पनि ठीक्क तर व्यवहारले दिक्क भएको र जताबाट आफू सुरक्षित भएर कमाउन सकिन्छ, जनताका काममा भन्दा धेरै ध्यान यसमा दिने भएको हुनाले यो पदलाई टिकनीय भनिएको हो । यिनीहरू कसको पक्षमा लाग्दा आफूलाई फाइदा हुन्छ, आफ्नो प्रभुत्व जोगाउन सकिन्छ, त्यसैलाई विशेष प्राथमितामा राखेर काम गर्दछन् । यिनीहरूको पार्टी त हुन्छ तर चेसको उँट जस्तो छड्केमात्र चल्ने यिनको बानी हुन्छ । यिनीहरू यति चातुर हुन्छन् कि गिद्धले झैँ सिनोको गन्ध पहिले नै थाहा पाउँछन् । त्यो अवसरलाई यिनीहरू कहिल्यै छोड्दैनन् । यिनीहरूको आम्दानीको कुनै हिसाब हुँदैन । तर खर्चको फेहरिस्ता भने लामै राखेका हुन्छन् । यिनीहरू टिकनीय हुन् ।
सांसद कोषबाट बनाएको सिमेन्टको पर्खाल भत्किन्छ । अलकत्रा राखेको सडक उक्किन्छ । तर, यो पद कुकुरको रौँमा टाँसिएको अलकत्रा जस्तै हो । भुत्ला नझरेसम्म झर्दै नझर्ने । त्यही भएर यो पदलाई टिकनीय भनिएको हो ।
अब पालो आयो बिकनीयको । बजारमा दसैँमा खसीबोकाको बिक्री भए जस्तै आफ्नै दलभित्र पनि पक्ष–विपक्ष हुनुप¥यो भने कताबाट धेरै माल झर्छ भन्ने ध्यान राख्ने, माछा र भ्यागुतो छुट्याउन सक्ने क्षमता भएका कारण यो पद दिइएको हो । यसमा विवेक, स्वाभिमान, लाज, घिन र आत्मसम्मानले केही फरक पार्दैन । त्यसैले यो पदवीलाई बिकनीय भनिन्छ ।
यिनीहरूको चुनाव जित्ने बेलामा एउटा पार्टी हुन्छ । चुनावपछि पार्टी अर्कै हुन्छ । यिनीहरू ढुलमुले चरित्रका र अवसरलाई लिनुपर्छ भन्ने सोचका हुन्छन् । अवसरबाट पैसा कमाइयो भने रवाफ बढ्छ र चुनाव जित्न सजिलो हुन्छ भन्ने सोच हुन्छ । यिनीहरूले सिद्धान्त फेरिरहन्छन् । पल्लाभारी बनाउनमा यिनले मोटो रकम बोकेर खोला तार्नमा सहयोग गर्छन् । पार्टीमा खासै भूमिका नभएको हुनाले यसैमा छक्कापञ्जामा चित्त बुझाउनु यिनको धर्म हो । तर, यिनीहरूका चम्चाहरू कडा हुन्छन् । जहाँ बस्छन्, त्यो भाँडो रित्याएरमात्र बाटो लाग्छन् । त्यसो त यिनको राजनीतिक जात र थातथलो पनि हुँदैन । तसर्थ, यिनीहरूलाई बिकनीय भनिएको हो ।
अब भन्नुहोला– त्यसो हो भने बुद्धि र ज्ञानमा के फरक छ त ? तपाईंलाई कस्तो लाग्छ । मलाई चाहिँ धेरै फरक लाग्छ । बुद्धि त गाईबस्तुमा पनि हुन्छ । उसको बच्चालाई छुने प्रयासमात्र गर्नुहोस् त, दाम्लो चुडालेर तपाईंलाई हान्न खोज्छ । यो उसको बुद्धि हो । तर, खानेकुरा उसलाई र उसको बाच्छालाई एकै ठाउँमा दिनुहोस्, आफू खान्छ, बच्चाले खाओस् भनेर छोडिदिंदैन । यसमा उसको ज्ञान छैन । हो यही फरक छ । ताननीयमा, उनीहरूको बुद्धि र ज्ञानमा ।
गाउँमा लगाउँदा फाटेको जुत्ता, कपडा उतै छोड्यो । यता आएर कोट भि¥यो । पहिला लोकल मार्केटका कपडा लगायो । केही समयपछि भारतीय ब्राण्ड र बिस्तारै सिङ्गापुरतिरका लगाउन थाल्यो । पहिला दुई हजारले पूरै शरीर ढाकेर हिड्थ्यो । अहिले दुई लाखले नढाकिने भो ।
पाखोबारीमा रहेको माटेघर छाउन छोड्यो । त्यही समयमा काठमाडौंमा घर जोड्यो । स्वास्नी केटाकेटी यता ल्यायो । बाआमा उतै छोड्यो । ऊ त ल्याउन चाहन्थ्यो तर स्वास्नीले ढङ्ग नभएका बुढाबुढी नल्याऊँ, यहाँ धेरै मान्छे आउँछन्, घिन मान्छन् भनी । उसले यो सरासर मान्यो । आँखामा पट्टी बाँधिएको भए पो खोल्न सकिन्थ्यो, विचारमा बाँधिएको पट्टी खुलेन ।
एकदिन बाआमाको मृत्यु भयो । फेसबुकमा साराले श्रद्धाञ्जलि दिए । पार्टीले ठूलो झण्डा लासमा ओडायो । नाइके नेताले फोटोसहितको श्रद्धाञ्जलि पुस्तिका हातमा थम्यायो । ऊ यही आत्मरतिमा रमायो । अरू केही उपलब्धि भएन । बुझ्नु पर्ने कुरा यो छ कि जसले आफ्ना बाआमालाई माया गर्न सकेन के उसले जनतालाई माया गर्ला ?
सोचनीय कुरा यो छ कि यत्रो क्षमता र ज्ञान भएकालाई त्यहाँ कसले पु¥यायो ? उत्तर साधारण छ– कुवाको पानी समुद्र पुग्ला भन्ने के थाहा । आमावुवा, दिदीबहिनी, दाजुभाइ भनेर हात जोडेको, साँझमा भुत्लाको पीरो गन्ध र निगारको स्वादमा आफैँ निर्वस्त्र भएको भोलि बिहानमात्र थाहा भयो । जुनबेला ऊ खादा–मालामा थियो । अरू बारीको डिलबाट रमिता हेरिरहेका थिए । त्यही रमिताले हो यो सबै दिएको पनि ।
एउटा खसीले रक्सीसँग पूरा गाउँ खायो । ऊ पनि त्यहाँ पुगेर खसी जस्तै भयो । एउटा मान हराएको माननीय जस्तै ।