हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू

सङ्कलन तथा प्रेषणः सृजना अर्याल
फैलन्छन् भय त्रास भित्र मनमै उब्जेर तर्साउने
दुष्कर्मी कति छन् अगाडि सबका दुर्भाव बर्साउने
यस्तैमा पनि थाम्नुपर्छ किन हाे देखावटी आबरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
-हाेम सुवेदी
कैयौँ सन्तति भड्किए दशदिशा पेसा अँगाल्ने भनी
हामी आज विमूढ झैँ हुन गयौँ चर्का समस्यामुनि ।
हाम्रा सामु हिमाल झैँ कठिन छन् बाधा चुनौतीहरू
सन्ध्यामा प्रतिभानिकुञ्ज छ यहाँ यी दर्द पोख्ने बरु ।
-मुकुन्द शर्मा
भन्थे बन्न त एकपल्ट पहिले भत्काउनै पर्दछ
जो भत्केर गयो छ आज बबुरो पीडा खपी मर्दछ
सत्ताको किचलो छ जर्जर अझै च्यातिन्छ छाती बरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ॥
-डा. खगेन्द्रप्रसाद दाहाल
दाैरामा सुरुवाल काेट असली टाेपी कतै देख्तिनँ ।
जाे पाइन्ट लगाउँछन् म तिनमा सत्सिर्जना लेख्तिनँ ।।
देखिन्नन् अहिले चिटिक्क पटुकी यद्वा कनाैतीहरू ।
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनाैतीहरू ।।
प्याराे त्याे इतिहासतर्फ किन हाे जाँदैन आँखाे रती ।
लाछीतुल्य भएर याे मुलुकमा खेपेर बस्छाैँ खती ।।
खाेजिन्नन् किन खै अचेल गतिला हाम्रा कलाैतीहरू ?
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनाैतीहरू ।।
बन्दैनन् बलिया टुँडाल अहिले देशेमरुझ्या किन ?
छाेडी इज्जत देशकाे लहडिँदै लाग्याैँ कहाँ जाकिन ?
भेटिनन्नन् अहिले चँदार उनका चाैँठे कठाैतीहरू ।
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनाैतीहरू ।।
गर्मीमा मदहाेस मस्त युवती देखाइहिँड्छन् फिला ।
वायुदार सफेद वस्त्र नभिजी आँखा भए बाफिला ।।
पूरा वस्त्र लगाइँदैन कदमा देखेँ कखाैतीहरू ।
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनाैतीहरू ।।
कित्ताकाट गरेर उर्वर भिटा बाँझा बनायाैँ अनि !
चाैतर्फी अनिकालमा किन गरून् माता धराले जनी ।।
घट्तै छन् खलखेत जाेत हलिया पाथी कमाैतीहरू ।
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनाैतीहरू ।।
नारा तेज छ तेजिला नजर छन् ढाँट्ने कला तेज छ
भाषामा पनि दम्भ वा कुटिलता मुस्कान झन् तेज छ
देखेको सब सत्य छैन जगमा विश्वास कस्को गरूँ
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
अग्लो चाङ छ कामको तर कुनै भाँच्दैन सिन्कातक
के गर्दा मन शान्त हुन्छ र अहो ! छल्छन् कुरा भर्सक
छैनन् अग्नि खुसी जलाउन उसै गाह्रो छ भन्छन् चरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
– रामहरि शर्मा `शराह´
सत्ता हो धन धर्म कर्म सबको भन्ने इरादा धरी
सारा वैभव देशको बगरमा माटो छरेझैँ छरी
आफ्नो स्वार्थ फिँजाउँदै मुलुकको सम्पत्ति बाँड्दा अरू
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
-मेघराज पौड्याल
के गर्ने र कसो हुँदैछ मनमा सन्तोष टाढा गयो
किंकर्तव्यविमूढ बन्नु नहुने त्यस्तै अवस्था भयो
सोचौँ सोचविचार शून्य किन भो? साथीसँगातीहरू
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
खेतीमा मल छैन छन् सडकमा खाल्टा र खुल्टीहरू
सत्तासीनहरू यही मुलुकको लुट्छन् सधैँ आबरु
गर्नै पर्छ विकास देशभरमा सर्वश्व छाडी बरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू !!
-दुष्यन्त भट्टराई
अग्लिन्छन् जडका पहाड चुचुरा चुम्ने इरादा लिई
अल्झिन्छन् पथमा दुबै पयर यी गन्तव्य नै बिर्सिई ।
होचा खोँच उठी जुरुक्क नभमा भन्छन् समस्या हरूँ
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
-उत्तम विचार ।
पूर्खाको इतिहास लाग्दछ कथा भन्छन् युवा ढुक्कले
बुझ्दैनन् कसले रचे मुलुक यो कस्तो ठुलो दुःखले
हामी आज यहाँ विभक्त बनिए हाँस्छन् पराईहरू
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
सत्ता स्वार्थ निमित्त मात्र दलमा देखिन्छ जो एकता
सिङ्गो राष्ट्र रहेन यो यदि भने नेपाल खोज्ने कता
बाँचोस् राष्ट्र सधैँ गरौँ प्रण यही हामी मरौँला बरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
-जीवन काश्यप
सत्ता स्वार्थ भयाे यहाँ विष ठुलाे बढ्दैछ बाढी सरि,
बाेल्छन् स्वर्ग बनाउँछाैँ धरणिमै बाचा अनेकाैँ गरी।
मात्र‌ै भाषणले हुदैन कहिल्यै सत्मार्ग खाेजाैँ अरू,
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
-हरिप्रसाद न्याैपाने
बढ्दैछन् किन आज देशभरि नै सङ्कष्टको बादल
हाम्रा शासक वादको दिनदिनै ठोक्छन् मिठो मादल
आफ्नै संस्कृति मेट्न गौरव गरी मस्केर बस्छन् बरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।।
– हरिशरण खतिवडा
लेखूँ लेख्न सकिन्न मर्म जनका खै काव्य लेखूँ कहाँ
खोलूँ खोल्न सकिन्न दर्द जनका नेपाल भेटूँ कहाँ
हाम्रो जीवनको अठोट बलियो पार्दै प्रतिज्ञा गरूँ
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू।
-भवानी खतिवडा
जो वैज्ञानिक योग्य हो सडकमा, सुत्दो छ रातोदिन
विद्वान् हैन अयोग्य हो तर दुई माग्दैछ लाखै किन
लेख्दैमा पनि शान्त हुन्न मन यो लेखूँ म के के अरू
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।
– आत्माराम न्यौपाने
बाँझै छन् घरछेउका सुरसिला ती खेतबारी सब
सिङ्गै देश उजाडिँदै छ सजिलै बेरै नलाई अब
सत्तामा छ लडाइँ मात्र जहिल्यै गिर्दै गयो आबरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू।१।
-इन्द्रनारायण सुवेदी
हो सर्वोच्च हिमालको मुलुक यो होचो छ आशा तर
झन् झन् देख्छु अशान्तझैँ किन यसै यो बुद्ध बस्ने घर
के ल्याऊँ र उदात्त भाव मनमा सङ्कल्प कस्तो गरूँ ?
हाम्रा सामु हिमालझैँ कठिन छन्, बाधा चुनौतीहरू ॥
– नगाधिराज
पाई देख्न र सुन्न पुष्परसझैँ स्वादिष्ट सम्बोधन
हामी धन्य र धन्य कान दुइटा, छन् धन्य यी लोचन
बोलीमात्र सुनेर पुग्छ र कहाँ सत्कर्म थालौँ बरु
हाम्रा सामु हिमालझैँ कठिन छन् बाधा चुनौतीहरू ।
-सृजना अर्याल
(प्रतिभा कुन्ज अभ्यासबाट)