उचाइ र धुलो
कविता
अर्कैको पर्खाल माथिको कुर्सीमा बसेर
तलतल हेर्दै
ऊ बेस्सरी कुर्लियो
म देखाइ दिन्छु कि
म को हुँ भनेर !
मेरो हैसियत र विरासत
आदि आदि
ढल्नै लागेको पर्खाल हेर्दै
स्रोताहरू भने किचिने भयले
परपर सर्दै थिए
निमेषमै गल्र्याम्म आवाज आयो
धुलो र धुवाँले केही देखिएन
स्रोताहरू खोज्दै थिए
त्यही कतै भेटिन्छ कि भनेर
र पनि केही भेडाहरूले भने
उहाँ अझै माथि नै हुनुहुन्छ भनेर
माथि माथि हेर्दै थिए
तर अफसोस
ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ
सायद
धरतीमा उचाइ र धुलोबीच
गहिरो नाता रहेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया