एकानब्बे स्वरमा शार्दूलको गर्जन
समीक्षा
कलमबाट निरन्तर निस्किरहन्छन् अक्षरहरू, मात्र त्यसलाई आकार दिनुपर्छ । जसका लागि घुमाउनु आवश्यक छ कलमको निब । यो काममा लागि कलानिधि दाहालको कलमलाई तिखार्नु र निखार्नु पर्दैन । मास्टरी जीवनमा खेपिएको चक डस्टरको आवाज उसैगरी बज्छ, जसरी गुञ्जिन्छ शब्दको माधुर्यता ।
किताबमा दिइएका पाठको सटिक उत्तर जस्तै छन् चट्ट शब्दहरू । कतै सप्रसङ्ग ब्याख्या जस्तै लामा भएर आएका छन् कथनहरू । तर, कतै अभाष हुँदैन पन्यालोपनाको भाव, विचार र प्रवाहमा । उस्तै एकछत्र देखिन्छ तलाउको जलाधार । न छेकिन्छ वृक्षको छायाँमा, उल्टै शितलताले मनमोहक बनाउँछ, रापिएको शरीर र मनको मादकता । त्यो लहरा जस्तै भावमा लहरिएर आउँछ गणहरूमा बेरिएर । अनि झंकारले जगाउँछ निदाउँदै गरेको राग र छन्दको लय । अनुष्टुपमा खारिएर बगिरहेको कलम समुन्द्री तटमा विश्राम गरिरहेको अवस्थामा कविता वाचनको मोहकताले शार्दूलबिक्रीडित तिर मोडिएको कुरा कवि स्वयमले बताएका छन् ।
वाचनमा भएको त्यो शक्ति देखेर आएको आशक्तिले जन्माएको हो ‘आफैं भए सुन्दर’ नामका यो कृति पनि । अहिले देखिएको सामाजिक अवस्थालाई चित्रण गर्दै सचेत हुन गरिएको आह्वान गरी यसरी सचेत गराएको पाइन्छ ।
ए, चर्वाक ! र चाटुकारहरू हो चम्चा गुलामी शिर
सक्छौ घुम्न जता जति घुमिरहू यो मेघ झैं फिर्फिर
हूँ आकाश सफा र स्वच्छ दिल हूँ सक्छौ जता लौ छर
जल्छन् क्यै दिनमै स्वयं सजग हौ तिम्रै बनेका घर (छन् मेरा शिरमा)
गुलामीमा रमाइरहेकाहरुको र पाषाण बन्दै गएको मन र व्यवहारलाई यस कविताले राम्रोसँग बोलेको छ ।
यहाँ‘हरू’को स्थानमा जन राखिदिएको भए छन्द दोष र भावमा मिठास हुने कुरा छँदैछ । आध्यात्म चेतना र हाम्रो परम्पराको बयान कवितामा सरल तरिकाले गरेको पाइन्छ ।
मेरो बात मिटाइ मन्दिर गए मान्छे स्वयं देवता
मेरो बात मिटाइ फर्कन सके खोज्ला र को देवता ?
चिन्ता मेट्न सके ममा म छु स्वयं संसारको नायक
चिन्ता फाल्न सके सुदूर तकको बन्नेछु उन्नायक (मान्छे स्वयं देवता)
यस कविताले मान्छे हुनका लागि मान्छेले गर्नुपर्ने प्रयत्न के हो भन्ने कुरा सिकाएको छ । जुन कुरालाई अहिले हामीले आधुनिकताको नाममा भूल्दै गएका छौ । मान्छे र प्रकृति एक अर्काको पुरक हो ।
यहाँ अन्तरंगको घुलन हुन्छ, हेरौँ—
बज्दै अन्तर बाँसुरी धुनसँगै पस्दा घना जंगल
खेल्दा शावकसाथ साथ मनमा क्या मंगलै मंगल
झुम्का छन् झुरझुट्ट छन् पयरका प्राकृतका सुन्दर
यस्तो स्वर्ग समाधिमग्न वसुधा अर्को कतै हुन्छ र ? (अर्को छ के झल्मल ?)
हरेक कुरा प्रकृति प्रदत्त हुन्छ । यसमा नरमाउने को होला ? झन् कविले नै प्रकृतिको मोहकता देखेपछि यसरी लहरिनु स्वभाविकै हो । यसले बाल्यकालमा गाउँले परिवेशमा विताएका पलहरूको स्मरण हरेको मनमा ताजा भएर आउँछ । कविले कविप्रति नै गरेको यो व्याङ्ग्यले चस्का त दिन्छ नै हाँसोले थुक सर्काउन पनि सक्छ ।
काला छन् कविका मनोजगत के जन्मन्छ नौलो पन
कुर्ल्याे मानक हूँ म हूँ भन भनी अर्को जुमाको जुम
यौटा श्लोक छ छन्द छन् अझअझै गल्ती त्यता छन् कति
गर्छन पाज्ञ प्रशंसनीय छ भनी हा ! हा ! म हाँसू कति ? (हा ! हा ! म हाँसू कति ?)
यस कविताले अहिलेका कविहरूको गुटगत अवस्थाको राम्रो चित्रण गरेको छ । प्रकृति लेखनमा कविको रुची बढी भएको देखिएपनि त्यसमा राष्ट्रप्रेम, वैज्ञानिक विचारको प्रवाह र सांस्कृतिक चेतनालाई अंगिकार गरेको पाइन्छ । यहाँ प्रेम, जीवन, यौवन र प्रकृतिका छटाहरुमा रूख र लहराको जस्तै अमिट सम्बन्ध देखाएको छ । भलै यो सम्बन्धमा कतै–कतै लहराले पुरा रूखलाई ढाकेको भान हुन्छ । यसबेला रूखको अस्तित्व छैन कि भन्ने मनमा उब्जिएको शंकालाई के आधारमा यो अडिएको छ त ? भन्ने कुराले खोतलेर हेर्न बाध्य बनाउँछ ।
वास्तवमा कविताको मुल भाव यसैगरी बसेको छ । कवितामा गौढता नराखे राम्रो हो, तर यहाँ कौतुहलता राखेर तन र मनलाई चेतनामा पुर्याउनका लागि यसको प्रयोग गरिएको छ । यो काव्यिक चेतनामा कविले देखाएको चलाखी हो, उल्झाउने मनसाय हैन भन्ने प्रष्ट छ । त्यसै ‘कविता लेख्नाका लागि हैन र देख्नाका लागि पनि’ भन्दै दम्भ साच्ने आँट कहाँबाट आउँछ ।
यसले कविताको ओझ बढाएको छ । नत्र सारा व्यवधानलाई हटाएर निर्मल आकास हेर्ने चाहना कसरी पुरा हुन्छ ? शार्दूलबिक्रीडित छन्दमा ९१ वटा कविताको संगालोको रूपमा आएको यो कृति एउटा महासागर हो । यहाँ पानीमात्र नभएर विभिन्न किसिमका जिवजन्तु अटाएका छन् । कतै मिठा माछाको स्वाद छ त कतै गोही जस्ता खतरनाक सामुन्द्रीक जनावरको भय । कवितामा यस्तैै गर्जनको संयोजन गरिएको छ ।
कविताको अलवा निवन्ध, महाकाव्य र उपन्यासमा समेत चलेको दाहालको कलमले उहाँलाई सिद्धहस्त बनाएको छ । उहाँका गौरवमय नेपाल (कविता सङ्ग्रह २०३८), केही कवि ः केही कविता (कविता सङ्ग्रह २०४३), सीमावासु (खण्डकाव्य २०६५), विभाजित विश्व (महाकाव्य २०७१), अरस्तुदेखि बङ्करसम्म (उपन्यास २०७१), कलानिधिका चुनिएका कविता (गद्य कविता सङ्ग्रह २०७३), शिखर यात्रा (निबन्ध सङ्ग्रह २०७६) र आफैँ भए सुन्दर (कविता सङ्ग्रह २०७८) कृति प्रकाशित छन् ।
जुनसुकै विषयमा पनि शुद्धता गुणको रूपमा आउँछ । त्यो मिलाउनु कविको दायित्व हो । यसलाई जसरी शब्दमा भाव खिपिएको हो त्यसरी नै अँगालेर अगाडि बढ्नुपर्छ । यहाँ वर्षाको समयमा जोगिएर हिउँदको शीतमा चिप्लेर लडेको देखिन्छ । शीर्षकलाई नै कतै आफै, आफैं र आफैँ पारिएको बाट यो कुराको उजागर हुन्छ । कुनै कविताको शीर्षक तल छन्दको नाम दिइएको छ त कतै त्यो लुप्त गराइएको छ ।
भूमिका लेखनका क्रममा नै डा. धनश्याम न्यौपानेले हुन्नन् यी विश्वासमा !! शीर्षकको कवितालाई आफैं भए सुन्दर भनेर कोड गरेको पाइन्छ । सिंहलाई सिँह शब्द बनाएको छ । यो कमजोरीलाई हेर्दा ब्याकरणीय र भाषिक हिसाबले किताबमाथि अन्याय भएको देखिन्छ । एउटै छन्दमा फरक–फरक स्वादका कविताको लम्बेतान बयान गर्न सकिन्छ । जो पढेर अघाइन्न । मन भर्नका लागि बारम्बार पढ्नुपर्छ । यो लामो कला साधनाको उपज हो । त्यसै आफैँ कहाँ सुन्दर हुन सकिन्छ र ? गुरु कलाप्रति हार्दिक शुभेच्छा ।
फेसबुकबाट तपाईको प्रतिक्रिया