उषा

कविता

उषा अनौठो अनुहारभित्र
देखिन्छ यौटा समभाव चित्र ।
विचित्रका चित्र सबै कुँदेर
यो आउने गर्छ कता गुडेर ।।

मलाई राखूँ म यसै भरीमा
यो वा छ त्यो स्वर्णिमका थरीमा ।
विशालमा वा समसाल सानो
बन्ने बनौँझैँ रमणीय छानो ।।

उदारमा दार सितार तार
संसार देख्ने बनूँ वारपार ।
न हौँ कतै स्वार्थ लिएर रम्ने
साझा सबैको सममा म झुम्ने ।।

अतृप्त आस्था अनुदार खाप
जम्मै हउन् भित्र जली सखाप ।
तृष्णा कुदुन् अश्व बनेर टाप
संसार जम्मै सम हाप झाप ।।

न हौँ कसैको नबनूँ कुनै म
मेरो र तेरो नछुने बनूँ म ।
विशाल होस् वक्ष बिहानजस्तो
सीमा न हौँ एक चिहानजस्तो ।।

सँगै सबै मग्मग होस् मिठास
वास्ना बनी मन्द चलोस् बतास ।
सुध्री सजाऊँ शिरको सिरानी
रम्नेछ रम्दा मनको बिहानी  ।।

लता लताझैँ बनूँ एक कुञ्ज
विचित्र चित्रङ्कुर विश्वकुञ्ज ।
एकेक सीमा नसजूँ कतै म
घण्टी गुफाका नबजूँ कतै म ।