ब्रुहानमाथि विमर्श

महानन्द ढकालको नयाँ उपन्यास ब्रुहानमाथि शनिबार पोखरामा विमर्श गरिएको छ । उपन्यासका विविध पक्षबारे लेखक तथा साहित्यकारले परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले ब्रुहानमा पहाड र मधेसको सम्बन्ध, बसाइँसराइ, थारू समुदायको संस्कृति, सङ्घर्ष र जीवनलाई समेटिएको बताउनुभयो । पश्चिम तराईको नेपाललाई आख्यानमार्फत प्रस्तुत गरिएको उहाँको भनाइ थियो ।
समीक्षक सञ्जीव पौडेलले उपन्यास मुख्यतः थारू जनजीवन, संस्कृति र कमैया मुक्तिको सन्दर्भलाई केन्द्रीय कथ्य बनाएर तयार पारिएको छ भन्नुभयो । पहाडी जीवनको संस्कृति मध्यनेपाल र यस वरपरका पहाडी बस्तीबाट पश्चिम तराईमा बसाइँ जानुपर्ने बाध्यतालाई पनि उपन्यासले प्रमुखताका साथ उठाएको उहाँले बताउनुभयो । उपन्यासमा कमैया आन्दोलन, थरूहट आन्दोलनले थोरै अगुवालाई अलिअलि फाइदा भए पनि सिङ्गो थारू समुदायको जीवनमा कुनै परिवर्तन नआएको कुरालाई वैचारिक निष्कर्षका रूपमा लेखकले प्रस्तुत गर्नुभएको उहाँको भनाइ छ ।

उपन्यासकार महानन्द सापकोटाले आफूले निकै अगाडिदेखि थारू समुदायमा रहेका विविध सन्दर्भलाई नजिकबाट केलाएको र त्यसलाई उपन्यासको रूपमा ढाल्न कोभिड–१९ पछिको बन्दाबन्दीले अवसर दिएको अनुभव सुनाउनुभयो ।

लेखक हसिना बस्नेतले उपन्यासमा महिलालाई कमजोर पात्रका रूपमा उभ्याइएको, प्रेमको सन्दर्भलाई कम महत्व दिइएको, अनुसन्धानमूलक विषयलाई औपन्यासिकता दिन केही मात्रामा चुकेको आदिबारे जिज्ञासा राख्नुभयो । उपन्यासकार बस्नेतले प्राप्त सुझाव तथा जिज्ञासालाई आत्मसात गर्दै आगामी दिनमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रकाश अधिकारी, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, अभियन्ता मोहन भण्डारीलगायतले ब्रहानका विविध पक्षबारे बोल्नुभएको थियो ।