आविष्कार

कविता

तिमी छौ र पो
उज्यालो छ यो धरती
ढाडस दिन्छ मान्छे जुनकिरीलाई

एका बिहानै सफा जल अर्पण गर्छ
अर्घ दिन्छ सूर्यदेवलाई
र भन्छ सूुर्यको अघि बत्ती को के अर्थ ?
तिमी छौ र पो
यो धरती सुगन्धित छ
पुलकित पार्छ ढकमक्क फुलहरूलाई
र त्यही फूल चुँडेर
एका बिहानै पूजा गर्छ स्थुल ढुङ्गाहरूलाई

यता
मान्छे फूल च्यातेर
सुन्दरताको कुरा गर्छ
उता,
मान्छे घामलाई सरापेर
प्रकाश र किरणको कुरा गर्छ
फेरि मान्छे जुनकिरीलाई नै मारेर
उज्यालोको कुरा गर्छ

बदलिनुको पनि त सीमा हुन्छ
हद हुन्छ
बेहद भएर मान्छे
कहिले ढुङ्गा जस्तै भएदिन्छ
कहिले फूल जस्तै भइदिन्छ
र फूलकै इष्र्या गरिदिन्छ
कहिले घाम जस्तै भइदिन्छ
र घामलाई नै सराप्छ
के भनू म मान्छेहरूलाई ?

ढुङ्गा जो मान्छे जस्तो
छिनछिनमा कहाँ बदलिन्छ ?
फूल जो झरे पनि
मुस्कुराउन कहाँ छोड्छ ?
घाम कहाँ उदाउन छोड्छ दूर क्षितिजमा
र त चल्छ ब्रह्माण्ड यो
तर मान्छे किन बेहद बेहद भइदिन्छ ?

आखिर मान्छे न मान्छे हुन सक्यो
ढुङ्गा जस्तो
न त फूल जस्तो कोमल
मान्छेले ढुङ्गा चिनेन
फूलले मान्छे चिनेन
मान्छे
न मान्छे
न ढुङ्गा
न फूल
न घाम
भगवानको एक अपूर्ण आविष्कार…!