सिन्दूर
निबन्ध
गाउँमा माइला बाको परिवार आर्दश परिवारमा गनिन्थ्यो । सबै कुरा राम्रो थियो । एक दिन बिहानै माइला बा गर्जिए–‘म तिमीहरू सबैको धरोहर हूँ । म ढले भने जतिनै चिच्याएर टाउको फोडेर रगत बगाए पनि एक चिम्टी सिन्दूर बराबर हुँदैन ।’ माइली आमाले यो कुरा केही बुझिनन् । तर, आफूमा उम्लिरहेको तेज वायूलाई रोकेर एक चिम्टी सिन्दूर बराबर शब्दमा आफ्नो ध्यान लगाइन । अनि यही शब्दले उनीलाई शान्त र निशब्द बनायो । अगि सम्म लगाएको घुर्की पनि माइली आमाले यसरी भूलिन मानौं समुन्द्र किनारको बालुवामा लेखिएको कुनै शब्द पानीको एक छल्काले भर्खरै मेटेर गयो ।
ठूलो वर्षा हुनु अघि गर्जेको मेघ वर्षा पछि रोकिए झैं सन्नाटा छायो माइला बा को आँगनमा । वरपर लागेको तुवाँलो हट्यो । तर वर्षा पछिको फिसफिसे झरी झैं विस्तार विस्तार सुकसुकाइ रहिन माइली आमा । यतिबेला छोरा बुहारी पनि पूर्ण रूपमा नीला भए मानौं उनीहरूको शरीरबाट भएभरको रगत झिकेर कसैले लग्यो ।
विशाल आँधी थामियो । ठूलो अनिष्ट हुनबाट बच्यो एउटा कालजयी समय । परेवाका बच्चाहरू आँधी रोकिए पछि विस्तारै आँगनमा आए । त्यही नाँचे खेले र रमाए । बचेराहरूले आँधीको अर्थ बुझेनन् । बुझुन पनि कसरी तिनीहरूलाई त माउले गुँडमा छोपेर लुकाएको थियो ।
माइला बा का अगाडि बोल्ने त के शिर उठाएर हेर्ने आँट पनि कसैको थिएन । त्यसो त माइला बा आफैमा आर्दश पुरुष थिए । उनी आफु भोकै बसेर पनि अरुको छाक टार्थे । दुख पीडा आफ्नै बराबर मान्थे र त उनी दुनियाँका माइला बा थिए ।
माइली आमाको चाहना थियो एउटा राम्रो घर बनाउनु भन्ने । तर माइला बा सँग त्यति धेरै पैसा थिएन । उनले पहिले नै आफूसँग पैसा नभएको जनाउ परिवारमा दिएका थिए । जसरी पनि एउटा घर बनाउनु पर्ने दवाव थियो उनी माथि । माइली आमाको असन्तुष्टि त्यही थियो । माइला बा शालिन र शान्त स्वभाव भएका कारण उनलाई पारिवारिक कचकच पटक्कै मन पर्दैनथ्यो ।
माइला बा गर्वका साथ भन्थें–‘अर्काको ऋणी हुनु भन्दा पुरानो घरको बास हजार गुणा वेश ।’ वास्तवमा हो पनि । अरुको ऋणी हुनु भनेको उसको गुलाम हुनु बराबर हो । यो कुरा माइला बाले राम्ररी बुझेका थिए । माइला बा आफ्ना पिता पुर्खा देखि नगरेको यो काम गर्नै सक्दैन थें । आधुनिकतामा अल्झदै गरेको परिवारको झगडाको मुख्य वीउ यही थियो ।
माइला बाले परिवारलाई आफ्नो पिता पुर्खाको इतिहास संझाउदै भने–‘बोलेर पिजडामा पर्नु भन्दा आकाशमा स्वतन्त्र विचरण गरेर काबा खानु मजा हो ।’ यी नपत्याए हेर भन्दै आफ्नो कौसीमा रहेको पिजडाको सुगालाई देखाए । यो बोल्ने लालचाका कारण पिजडामा छ । नत्र आज आकाशमा कावा खादै घुम्दै गरेको हुने थियो । लोभ यस्तै चीज हो । यसलाई समयमा नै चिन्नु राम्रो हो । आफुमा भएको कुरालाई सदुपयोग गरेर रमाउनु एकदमै राम्रो हो । नहुने कुराको खोजी गर्दा पिजडाको बास हुन्छ । यो कुराले सबैको अन्धकार हट्यो हटेन थाहा भएन तर माइला बा को मुहार भने उज्यालो देखियो । हिमालमा बिहानको पहिलो किरण परे जस्तै ।
फेरि चकमन्नता छायो । हावाको प्रवेगता रोकिए झैं । सबैजना आँटी र मेचमा बसे । अघिसम्म चलेको सभा त अब पो सुरु भए झैं देखियो । तर कोही बोलेन मौनतामा कुनै इशारा बिना सभा सकियो । कसैलाई पुरस्कार र दण्ड घोषणा गरिएन । अन्तमा माइला बाले भने –‘हुरी चलिरहन्छ घरको राम्रो बाँद छाद गर्नु ।’ थाहा छैन उनको कुरा कस्ले कति बुझेँ ।
माइला बाले आफुले ओडेको मयलपोस किलामा राखे र धारामा मुख धोए । आफुले गरेको पाप पखाल्न लागे झैं । बिस्तारै मलिन स्वरमा हे गंगे तिमी कति निर्झरछ्यौ सारा फोहोरलाई तिमी बगाएर आफुमा समाहित गछ्यौ । यो बाक्य सुनेर झोक्राइरहेको छोरो वीरध्वज मेचबाट उठ्यो । आफ्नो दोष मेटिएको ठानेर । ऊ उठेको देखेर परेवाका जोडी डराए र भुर्र अलि पर उडेँ ।
केही समय पछि वीरध्वज जागिरको खोजीमा हिडेँ । उनले एउटा राम्रै जागिर पाए पनि । तर जागिर के पाए भन्नु जसरी घरमा खर्च गर्थे त्यसरी खर्च गर्दा त खाजा खर्च पनि नचल्ने । अनि उनले आफ्नो बाबुले भनेको स्वतन्त्रताको कुरा बुझे । जागिरको महत्व र औचित्य पनि । उनी केही महिनाको जागिरे जीवन बिताएर पुन घर फर्के । जहाँ बगैचामा फुलेका फूल र आरुका बोटहरू हेरेर रमाए केही समय । केही वर्ष पछि उनी असल कृषक बने । उनले संसार भुले । आत्मा ज्ञान र अध्यात्मलाई अंगिकार गरे । तव उनले जीवनको अर्थ र परिवारको मोह बुझे ।
ज्ञानको खाजी आफूभित्रबाटनै गर्ने सकिने कुरा उनले बुझेका थिए । र, त यतिबेला उनी निर्भिक थिए । उनले बाबुका कुरामा मन दुखाएनन् । परिवारको अगाडि शिर झुकाउने बुद्धिमानी ठानेको उनले आफ्नो शरीरलाई बसमा राखेका थिए । उनले बुझेका थिए रिस देखाउनु भन्दा त्यसलाई रोक्न कयौंँ गुण बल चाहिन्छ । तर त्यो विशाल भीमकाय क्रोधलाई सानो कमिलो ठानेर मुठ्ठि कसेर बसेका थिए । अहिले त्यही शक्तिमा उनी उभिएका छन् ।
जीवनको अनमोलता बुझ्नका लागि शान्त रहनु पर्ने कुरा वीरध्वजले बुझेँ । गहिरा नदीमा स्वर नुहुनुको कारण र पहराको प्रतिध्वनीको ज्ञान खुलेर आयो । पानीपर्दाको अन्धकार खुलेपछि बादल फाट्यो, धर्ति रसिलो देखियो । यो नयाँ अंकुरणका लागि सही समय हो उनको मनमा यही शान्तभाव पानीको मुल झैं कलकल गरिरह्यो ।
यो घटना भएको केही समय पछि कान्छी छोरीको विवाह सकियो । त्यसको केही दिनमा माइला बाले श्रीमती छोराबुहारी तर्फ औल्याएर–‘भने मैले जसरी तिमीहरूलाई पालेको छु, तिमीहरूले पनि त्यसरी नै आफ्ना छोराछोरीलाई पाल्न सक्यौ भने म तिमीहरूलाई बहादुर मान्ने छु । फर्माइस गर्न जान्नु र परिवार पाल्नु फरक कुरा हो, यो कुरा तिमीहरूले भोलि थाहा पाउने छौ ।’ माइला बाको कुरामा सत्यता र अनुभव दुबै थियो । विचरा काँचा केटाकेटी यसरी अडिए जसरी तारमा क्लीपको सहायताले झुण्डिएको कमिज हावाको फर्रफराहट झेलिरहेको थियो ।
‘वीथिकाको मुसाफिर गर्ने मान्छे साह्रै पारावार हुँदो रहेछ । सायद त्यसैले होला ऊ प्लवङ्गा हुन्छ र जसले कलवर भन्ने शब्द नै बिर्सेको हुन्छ’ भनेर देवकोटाले त्यसै भनेनन् होला । यसमा यसो हुन सक्छ । जसको उरमा सोपान छैन र सोपानै छैन भने त्यहाँ रञ्जनाको के अर्थ ? झुप्राहरू नै प्रसादका संझने हामी झैं अबोधहरू निवेद संझनु बेकार लाग्यो । त्यसैले म कलवर लिएर बाँचीरहेछु । आजको आवासको भू–माथि ।
मेरो कारणले तपाइँलाई चिन्ता बढ्यो भनेर रातमा माइली आमाले गुनासो पोखिन । सके किन यो पानी चुहिने घरमा बस्नु र नयाँमा बसौँ मात्र भन्न खोजेकी हूँ माइली आमाले ब्याख्या गर्न नपाउदै माइला बाले भने आधा रात भइसक्यो छिटो सुत । बाँकी कुरा भोली बिहान गरौँला ।
भोलिपल्ट बिहान अरु कुनै संवाद भएन । घर सुनसान थियो । माइली आमा अम्खोरामा पानी लिएर आइन । मधुरो स्वरमा पानीको अम्खोरा दिएर भनिन खाना खान जाउँ खाना तयार भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया