मनसरा…!

छोटो कथा

बिरोध खतिवडा

गहिरो निन्द्रामा थिएँ । राम सरको फोन आयो । ब्युँझिएँ । फोन उठाएँ ।
‘देखभेट नै हुन छोड्यो त श्रीमान् ।’
‘अँ भन्या । साह्रै व्यस्त भइएछ । ’
‘आज आउनु न यता ।’
‘भाइको मुख हेर्ने दिन हो र आज ?’

‘ह्या ! आउनु न खुरुक्क ।’ ‘तीजको मुखमा बोलाउनुभयो त, दर खुवाउने हो?’, जिस्काइदिएँ ।
‘तपाईं आउनु न, तीज र तिहार सबै भइहाल्छ नि !’ दुबैजना लामो हाँसो हाँस्यौं ।
यो हप्ताको ड्युटी तालिका हेरेँ । अब मंगलबारको नाइट ड्युटी छ । कस्तो गर्मी छ आज । सोचेँ, खलक्क जीउ पखाल्नुपर्यो ।
एक जोर भित्रि वस्त्र र तौलिया बोकेर वाथरुम छिरेँ । प्लास्टिकको ट्याङ्की तातेर पानी उमालेको जस्तै भएछ । कोरोनाको तेस्रो भेरिएन्ट चलिरहँदा मैले ट्याङ्कीको पानीमा मेलम्चीको दोस्रो भेरिएन्ट देखेँ । एकछिन पानी फालेपछी अलि सेलाएको पानी आयो । छोटो मीठो नुहाएर निस्किएँ ।

लुगा लगाएँ र झोला चेक गरें । चार्जर, इयरफोन र छाता हो चाहिने कुरा । सबै रहेछन । पानी पर्लाजस्तै छ आकाश । पछिल्लोपटक मनसरालाई भेट्दा आजको आकाशजस्तै अँध्यारो मुख लगाएकी थिइ ।

‘ल यो मास्क लगाउ, अँध्यारो मुख छोपिन्छ ।’, मैले भनेको थिएँ । ऊ अझ रिसाएर बाङ्गिरहेकी थिई ।
मुख अँध्यारो भए मास्क लाउनुपर्छ । आकाश अँध्यारो भए छाता ओड्नुपर्छ ।

मास्क छुटेको रहेछ । झोलाभित्रबाट एउटा नयाँ मास्क झिकेर लगाएँ । छाता हातमा बोकेर झोला भिरेर झरेँ तल । पानी त वर्षिन थालिहाल्यो । गाडी भेटिहाल्छु भनेर गेटबाट निस्कनै लाग्दा पछाडिबाट कसैले बोलायो । फर्किएर हेरेँं, गाउँकै भाइ रहेछ । कमल संघर्ष दाइको एउटा गजलको शेर सम्झिएँ ।

‘आफ्नाहरू पर्छन फेला, जाने बेलामा,
र थपिन्छ झन झमेला, जाने बेलामा ।’
‘के थियो भाइ ?’ ‘पासपोर्ट रिन्यु गर्न्नुपर्ने थियो ।’ ‘ए ओके !’ एकजना साथीसँग उसलाई गाइड गर्न लगाएर म निस्किएँ ।

निजी सवारी साधन नहुनेलाई नारायणहिटी एरिया एकदम बिकट एरिया हो । गाडी चड्न या त जयनेपाल हल हुँदै हात्तीसार पुग्नुपर्छ या त रत्नपार्क वा लाजिम्पाट । नारायणहिटी दरबार सङ्ग्राहलयको गेटबाट निस्कंदै थिएँ एकजना २०–२२ झैँ उमेरकी महिला दर्के पानीमा रुझ्दै लामोलामो पाईला चालिरहेकी देखेँ ।

म जानुपर्ने दिशातिर नै गइरहेकी मान्छेलाई यो झरीमा छाता ओडाएर थोरै पुण्य किन नकमाउँ ? म पनि लामोलामो पाइला चाल्दै उनी नजिकै पुगेँ ।
‘ज्वरो आउँछ । भिज्नु हुँदैन है ।’
‘थ्याङ्क यु ।’ ‘कहाँसम्म जाने तपाईं?’
‘वानेश्वर ! तपाईं ?’
‘म कोटेश्वर ।’, मैले भनेँ ।
‘ए ! एउटै बाटो पर्यो ।’
‘अँ, एउटै छाता, एउटै गाडी, एउटै सिट पनि ।’ म हाँसे । उनी पनि हाँसिन् ।

हात्तीसार पुगेर गाडी पर्खियौँ । एकैछिनमा गाडी पनि आइपुग्यो । गाडी खालीखाली नै देखियो । मैले भनेजस्तै एउटै गाडी, एउटै सिट नै हुने भयो । गाडिमा चढ्यौँ । बडो होसियार हुन्छन कोहीकोही छोरी मान्छे । हत्तपत्त महिला सिटमा बसिदिन्छन । अझ होसियार हुन जरुरी छ स्वस्थ र वयस्क छोरा मान्छेलाई काठमाडौंका गाडीमा । झुक्किएर पनि आरक्षित सिटमा बस्ने गल्ती गर्नु हुँदैन ।

तर उनले त्यसो गरिनन् । अलि पछिल्तिरको खाली सिटमा गएर बसिन् । म पनि गएर उनीसँगै बसेँ । गाडी कुद्यो ।
‘हजुरको नाम के नि ?’, मैले सोधेँ । ………………………..
गहिरो निन्द्रामा थिएँ । राम सरको फोन आयो । ब्युँझिएँ र फोन उठाएँ ।

(याे छाेटाे कथा खतिवडाकाे फेसबुक बालबाट लिइएकाे हाे )