स्वार्थी आँखा

त्यो आत्मीय सद्भाव अब तिमीसँग रहेन । आँखा मान्छेको सबैभन्दा ठूलो दुस्मन हो । यही आँखाले मलाई तिम्रो भौतिक रूप शरीरसँग परिचय गरायो । र, अनवरत यात्रामा डोबाटो बनाई मलाई छुटायो । त्यो स्वार्थी आँखा मलाई पटक्कै मन पर्दैन– निर्दयी !

स्वार्थी आँखाले आत्मीयता साट्न लगायो र अन्त्यमा भित्री कुनामा सोकेसमा सजाएर राखेको मेरो सोकेसभित्रको मूर्तिलाई झरामझुरुम पारेर फुटायो । यसरी फुटाएको मेरो पवित्र मूर्तिलाई तिमीले आफ्नो बलियो हतियार बनायौ, युद्धका लागि । जुन मान्छेको अस्तित्व मेट्न, स्वार्थ साँच्न र सुरिला सीधा वटवृक्षहरू अकालमा कीरा बनेर धोद्रो बनाउने र ढाल्ने यही पवृत्ति छ त्यो शस्त्रमा । म यो शस्त्रलाई जीवन्त सम्झने छु । एउटा बुख्याँचा र कालो हाँडीको रूपमा । जो अस्तित्वविहीन छ तर पनि तर्साइरहन्छ ।

यही आँखा हो, बुख्याचालाई साच्चैको रूपमा लिने । डोरीलाई सर्प सम्झने । बाटोमा बाघ देखेर आत्तिने । यहाँ यो आँखा अन्तरज्ञानको हुन्थ्यो भने मान्छे बुख्याँचासँग डराउने थिएन । सर्प खुट्टामा अल्झिर आए पनि साधारण डोरी ठानेर हटाएर हिड्ने थियो । बाघसँग त झन् उसको अङ्कमाल हुनसक्थ्यो होला । यहाँ मन डराएको हैन, आँखा डराएको हो ।

आँखा नहुँदो हो त मान्छे हतियार र अन्धकारसँग पनि डराउने थिएन । आँखा नै हतियार हो । यसले मार्छ भन्ने तर्कना पैदा गरेका कारणमात्र हो मन डराएको पनि । नत्र मनले त हतियारको कल्पना गरेकै हुँदैन नि ! कहिल्यै नदेखेको दृश्यको कुनै रङ हुँदैन । त्यो सादा कागज जस्तै हो ।
हामीले जसरी दिनमा देख्नसक्छौ र रातको समयमा सक्दैनौँ । यो आँखाले हामीमा छरेको भ्रम हो । यदि हामीलाई आँखाले नदेखाएको हुँदो हो भने हामीलाई अन्धकार छ भनेर जानकारी हुने थिएन । जसका कारण दिन र रात बराबर हुन्थ्यो । अनि हामीलाई अन्धकारसँगको डर हुने थिएन । यो सबै आँखाको खेल हो । यहाँ मन यसको मोहोरा भएको छ ।

आमा भन्नुहुन्थ्यो– आत्मीयता, स्नेह र सद्भाव जति साँच्न सक्छौ, आस्था त्यति नै बढेर आउँछ अनि सौहार्द्र ज्यादा हुन्छ अनि आफ्नोपनको आभास पाउछौ । आमाको अर्तिलाई शिरोधार्य गरेर प्रतिफल पाएँ अमिलो, जसलाई स्याउको स्वाद जन्मजात बसेको थियो ।

‘बोल्दा मीठो बोल्नुपर्छ, नम्रपनाका साथ’, यो पढेको थिएँ किताबका पानाहरूमा तर म शिल्पी बन्न सकिनँ । तिक्तताभित्र रिक्तता साँचिरहेछु खै ! नम्रपना आँसुले बगाएर हो कि ? माकुरो आफ्नो जालोमा बसीबसी आफ्नो सिकार गर्छ, म दश नङ्ग्रा ख्याउँछु र पनि पेट कहिल्यै भरिँदैन । तर, थाहा छ म असन्तुष्ट छु वा मेरो यो खाली पेट सधैैँ दाम्री रहन्छ, भोर्लाको टाटाझैँ । खै ! म माकुरो कहिले बन्ने हो ? हे भगवान ! मेरो पुकार सुनेर मलाई माकुरै बनायौ भने पनि पोथी चाहिँ नबनाउनु किनकि सारतत्वमा म आमा भएर आफैँँले जन्माएका सन्तानहरूले मलाई नै सिकार बनाउन, म यो चाहन्न । जो बच्चा आमालाई नै मारेर खान्छन्, त्यो अत्यन्त पीडा हुन्छ होला । म अहिले नै यसरी च्यातिएको छु । म अरू टुक्रिन चाहन्न, च्यातिन चाहन्न ।

भाषा मानवको सभ्यता हो । यही सभ्यताभित्र संस्कृति बाँच्दछ । म पनि यसैको आधारमा हिँड्दैछु । मलाई आस्थाविहीन मान्छे थोरै भन्लान् तर म सबैलाई सत्कार गर्छु– अभिवादन वा नमस्कारमा । आजसम्म अहित चिताएको एउटै कुरा हो– पदचापमा थाहा नपाएर कमिला मारेको । र, अर्को कुरा हो ठूलो बाबाको आज्ञाले कोटकी कालिका देवीमा कालोपाठी वलि चढाएको । यो भन्दा ज्यादा गरेको छैन र गर्न नपरोस् पनि । मलाई थाहा छ– रगत रातो हुन्छ र त्यो आगोभन्दा बलवान र तातो हुन्छ । अर्को अर्थमा त्यसमा आफ्नो अस्तित्व छोड्ने एउटा वंश हुन्छ वा भनौँ आफ्नो प्रतिनिधिको त्यसमा चिह्न वा प्रतिनिधित्व गर्ने साहस र क्षमता हुन्छ ।

मान्छेहरू बैँसलाई अन्धोको संज्ञा दिन्छन् तर साँचो अर्थमा बैँस होइन, आँखो नै बैरी हो । त्यो सुन्दर प्रकृतिको अनुपम उपहार फूललाई टप्प टिप्छ र उसका गन्हाउने सिगाने नाकले स्वाँक्क सुग्छ । छिः त्यो फोहोरी आँखा कस्तो अन्याय गर्छ प्रकृतिमाथि । पूर्खाले जे भने ठीक भने– “स्वास्नी बहिरी र आफू कानो हुनुपर्छ” जीवन खुसी र सुखी हुनका लागि । यस्तै भयो भने मानव र प्रकृतिको तालमेल हुन्छ । सार्थकता पनि थाहा छैन र सुन्दरता पनि जान्दैन भने के मानव ? मानवलाई यति पनि थाहा छैन सुन्दर वस्तुहरू हेर्नका लागि हुन्, छुनका लागि होइनन् भन्ने ?

हातहरू सिपालु हुनुपर्छ जीवन गुजाराका लागि भन्ने मलाई पनि थाहा थियो । तर, यी हात अरूका खल्तीमा छिराउन सकिएन । खस्रा औँलाहरू घिउमा चोपेपछि नरम हुन्छन्, थाहा थियो । स्वार्थीहरूले धनसँगै नरम भएर अपराध बिर्सेको नाटक गरे । आडम्बरीले भित्रभित्रै आफ्ना औँलाहरू चम्काइरहे । क्षणिक जलन गरे दुःखको त्यो उनीहरूको आफ्नै दुःख थियो । आज हाँस्दैछन् शालीनतामा तिनीहरू अरूको दुःख बिर्सेर । एउटा नबिग्री अर्को सप्रदैन भनेको यही रहेछ । म यही अनुमान लगाइरहेछु । ती स्वार्थी आँखाहरूप्रति, जसले अर्काको मोटो खल्ती थाहा पाउँछ र आफ्नो आडम्बर बढाउँछ । आफूले दुःखमा बहाएका आँसुहरू बिर्सेर अट्टहासमा आफ्ना बत्तिसै दन्त देखाउँछ । लाग्छ अपराधबोध र पुराना दिन दुवै उसले बिर्सेको छ ।

………………
हेराइको भावमा विचार हुन्छ । आँखा त उस्तै हो तर मायालु तरिकाले हेर्नु र आँखा तरेर हेर्नुमा फरक हुन्छ । मायालु तरिकाले हेर्दा ओठमा झल्कने मुस्कान र आँखा तरेर हेर्दा आउने मुखको भावमा फरक हुन्छ । यसो हुनाले आँखाले हेर्नेमात्र होइन, बोल्ने पनि गर्छ । सांकेतिक भाषाको निर्माण आँखाको भावले भएको हो, नत्र बाचाल ओठहरू के गर्थे त ?

कालिदासको प्रसङ्गमा आँखालाई इशाराको बयान भन्ने गरिएको छ । कालिदास आफ्नो बाल्यकालमा पढ्न नसकेका कारण ‘क’ खिइएको प्रसङ्ग वा विवाहको समयमा ईश्वर एक वा दुईको प्रश्न रोचक लागे पनि यो आँखाको भाषा हो । यही आँखाको इशाराका कारण नै कालिदास संस्कृत साहित्यका प्रकाण्ड विद्वान् बनेका हुन् । विवाह त एउटा संयोगमात्र थियो । नत्र न त कालिदासले यो ब्रम्हाण्डको विषय जान्दथेँ न त विद्योत्तमा नै । यही आँखा नभएको भए ईश्वरको प्रसङ्ग चल्ने थिएन । यो प्रसङ्ग नै नचलेको भए आत्मा र परत्माको कुरा कहाँबाट उठथ्यो र ? सायद उनीहरूको प्रेम–मिलन पनि हुने थिएन ।

आँखाले के हेर्छ ? सिनो देखेमा नाक छोप्नु र फूल देखेमा टिप्न खोज्नु आँखाको दोष हो । यहाँ भावना लुप्त हुन्छ । यिनै आँखा हुन् अरूलाई अन्याय पर्दा वा आफूले गर्दा टुलुटुलु हेरर बस्ने र आफूलाई पर्दा मुठ्ठि कस्ने । यसो हुनाले मनको चिन्ता भन्ने कुरा जुन हामी भन्छौं र व्यवहार गर्छौं । त्यो मनको चिन्तन होइन । यदि आँखाले देख्दैन भने मनले चिन्तन गर्दैन । यही आँखाको कारण हो मनले चिन्तन गरेको । यही चिन्तनको कारणले हो मनलाई दुःखी र अशान्त पारेको पनि ।

मनले न रूप जान्दछ न त सौन्दर्य नै । यस्तो सुन्दर मनलाई रूप र सौन्दर्यमा अल्झाएर राख्ने यो आँखा बेइमान हो । स्वार्थी हो ।