अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श
काठमाडौँ । २०८१ भदौ २८ गते शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४ औँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो । ‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय,नेपाली भाषासँगको बोधगम्यता ,ऐतिहासिक , राजनीतिक र सामाजिक मान्यता,अनुसन्धान , नाम र मूल स्थानिक,क्रिया र विशेषणका बिच सङ्गति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राख्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा-प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताउनु भयो।अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेको मा कुलपति राईले चर्चा गर्नुभयो ।
नेपालमा जेजति भाषाहरू छन् ,ती सबै नेपाली सम्पदा भएकाले यसको संरक्षणमा लागिपर्नु बताउनुभएको थियो। उहाँले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा-प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा छ। यही अभियानले नै मातृभाषाबिच सहकार्य भइरहेको बताउनुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएको थियो। उहाँले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिनुभएको थियो। कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै आज डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठुलो प्रभाव पार्ने बताउनु भएको थियो ।
प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताउनु भएको थियो। उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल, शिवप्रसाद जोशी, भूपध्वज, यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राख्नुभएको थियो। कार्यक्रममा कलाकार हिरन राईले ‘बिनायो र पात ‘बजाएर रैथाने बाजाको धुन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी, जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया