“निरजोया“ उपन्यासले देखाएकाे बाटाे

काठमाडाैं ।आज दाजु गुरुङको “निरजोया“ उपन्यास पढेर सिध्याएँ। यो भन्दा अघि नै दाजु गुरुङका दुईवटा कथासङ्ग्रह टाँकीका फूलहरू र लाइ– सी प्रकाशित भैसकेका छन् । सङ्खुवासभामा जन्मेर हङ्कङमा कार्यथलो बनाउनुभएका दाजु गुरुङको तेस्रो कृति हो “निरजोया“ उपन्यास । संयोग नै भनूँ कि के भनूँ तीनवटै कृतिको लोकार्पण कार्यक्रममा अतिथिको रुपमा हङकङमा उपस्थित हुने मौका मिल्यो । मे २६ मा लोकार्पण भएको यो उपन्यास पढेर जस्तो लाग्छ त्यस्तै लेख्ने बाचा गरेर नेपाल फर्किएकी थिएँ । मलेसियामा बसेर नेपाली दाजुभाइहरुले मजबुरीका लागि पाएको दुख कष्ट र त्यहाँको पुलिस प्रशासनले दिएको दुख कष्ट र भोगेका पीडाको सिलसिला अनि त्यहाँ बस्दा निरोज एउटी केटीसँग प्रेममा परेर सम्बन्धमा बसेको हुन्छ । निरोजले आफूसँग पासपोर्ट साथमा नबोकी हिँड्दा त्यहाँको कानुन अनुसार पुलिसले कार्यवाही गर्दा गरेको अत्यन्त क्रूर र अमानवीय व्यवहार, लुगा फुकालेर नाङ्गेधार बनाएर दिएको यातना, दिसा पिसाबसम्म गर्न नदिई राखेको बेला कतैबाट खबर पाएर जोया आइपुगेर पटक पटक छुटाएर लगेको तर फेरि एउटै कारण पटक पटक जेल परेर दुख पाएको कथानक छ । पछिल्लोपटक भने निरोजको व्यबहारले प्रेमसम्बन्धबाट अलग्गिए पछि जोया भेट्न या जेलबाट छुटाउन नआएकी हुँदा निरोजले झल्झली जोयालाई सम्झिन्छ तर जोया आउँदिन ।

 

म आफू दर्जनौँ पटक मलेसिया गएकी छु । यो उपन्यासमा भनिएको ठाउँ जोहोरबारु आफ्नै आँखाले झल्झली देखेर आएकीले उपन्यासको कथानकसँगै पुनः यात्रा गरेझैँ लाग्यो ।त्यहाँ काम गर्ने नेपाली दाजुभाइलाई मैले पनि भेटेकी छु । ती सबैले उपन्यासमा आएको जस्तै दुख भोगेका होलान् भनेर एकोहोरिएँ बेला बेला तर यति मीठो गरी जम्मै आफैँले भोगेको जसरी निरोज बनेर समयको कुनै कालखण्डमा उपन्यासकार स्वयम्ले त भोगेको होइन यो कथा जस्तो लाग्छ । मलेसियाको जोहोरबारुका गल्ली गल्ली,त्यहाँका प्रत्येक स्टेशनकाे नामसहित त्यहाँको भाषा समेत हेर्दा र प्रस्तुतिको शैली हेर्दा काल्पनिक कथावस्तुमा कसरी उपन्यास लेख्न सम्भव भयो होला र भन्ने एउटै प्रश्नले लखेटिरह्यो मलाई । कथामा आउने डम्बर दाइ निरोजको निक्कै सहयोगीको भूमिकामा देखिएका छन् ।

नेपाली दाजुभाइलाई प्रतिनिधित्व गर्न निरोज र डम्बर दाइ प्रतिनिधि पात्रका रुपमा आएका छन् । मुलुक छाडेर विदेशिदा पैसाको बिटो टिपेर लिई आउँछ भनेर बस्ने श्रीमती छोराछोरी बा आमालाई पनि बिदेशमा सुख छैन भन्ने सन्देश यो उपन्यासले दिएको छ । अन्तिममा दुखसुख जे जे गरेर भए पनि त्यो चङ्गुलबाट फुत्केर अरु नेपाली दाजुभाइकै साथसहयोगमा निरोज नेपाल फर्कन्छ । लामोसमय जीर्ण भएको शरीर अस्पतालको बसाइमा पर्छ । जोयालाई एकदम धेरै सम्झिन्छ । निर र जोया सम्झनामै सिमीत भएर उपन्यास वियोगान्तमा टुङ्गिन्छ ।

निक्कै मिहेनत गरेर लेखिएको यो उपन्यासका लेखक मलेसियामा नभएर हङ्कङमा हुनुहुन्छ । हङकङ बसेर मलेसियामा गएका नेपालीको मनोदशा केलाएर देशको माया के हो भन्ने कुरा बुझाउन पनि उहाँ सफल हुनुभएको छ ।
उपन्यासकारको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस् । शुभकामना ।