प्रज्ञा-प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौँ ।२०८१ जेष्ठ ३२ ,बिहीवार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको थियोे । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार हो ।

आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्छ।जुन लोकभाषा,साहित्य ,कथन,इतिहास ,संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्नुभएको थियोे ।साथै उहाँले प्रज्ञा-प्रतिष्ठानबाट कतिपय प्रसिद्व पुस्तकहरू अनुवाद भइसकेका छन् ,त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिनुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद )विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षता गर्नुभएको थियोे।उहाँले भाषा जान्दैमा अनुवाद गर्न सकिन्छ भन्ने छैन,यो एक प्राविधिक विधा हो । प्रज्ञा-प्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीलाई क्रमश:संवोधन गर्ने छ ।यससम्बन्धी प्रश्न र जिज्ञासाको निरुपण छलफल र विमर्शबाट हुने छ भन्नु हुँदै अनुवादले एकअर्कालाई परिचित गराउने बताउँदै गोष्ठीको समापन गर्नुभएको थियो।

गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान ,विज्ञान र प्रविधिसँग समेत जोडिन्छ।यसले एकआपसमा भाषाको सञ्चार गर्छ र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्त्व रहेको हुन्छ भन्ने धारणा राख्नु भएको थियोे । गोष्ठीमा डा.बलराम अधिकारीद्वारा लिखित ‘अनुवादको भाषा :सैद्धान्तिक बहस र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे ।कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको ओैचित्यबारे व्याख्या गरिएको थियोे । यस गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनुवाद बोझिलो र भड्किलो हुनु हुँदैन ।

अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्छ। कुनै पनि स्रष्टाको अनुदित कृतिको मौलिकता र मर्म मर्नु हुँदैन ।त्यतातिर अनुवादकको ध्यान जानुपर्नेमा जोडदिनु भएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य )विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्छ ।गुगलबाट हुने अनुवादमा मौलिकता रहँदैन ।यसको विशिष्टतालाई जोगाउन सुझाव दिनुभएको थियोे । गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियोे । गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी ,अजितमान तामाङ,डा.सोम धिमाल,ठाकुर अमगाईँ ,वेदना उपाध्याय ,कृष्ण अधिकारी र उमेश बस्तीलगायतले उक्त कार्यक्रममाथि आआफ्नो सुझाव र जिज्ञासा प्रकट गर्नुभएको थियोे । गोष्ठीको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गर्नुभएको थियोे ।