पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्छ : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ । ख्वप कलेज देकोचा भक्तपुरको निमन्त्रणमा आज गेष्ट लेक्चर (आगन्तुक प्राध्यापक)का रूपमा आउनुभएका झाले कलेजका स्नातक तह पहिलो वर्षका पत्रकारिताका विद्यार्थीलाई पत्रकारिता समाज परिवर्तनको संवाहक भएकाले पत्रकार समाजप्रति संवेदनशील र उत्तरदायी बन्नुपर्ने बताउनुभएको हो ।
“पत्रकारिताले समाजलाई डोहोे¥याउने भएकाले यो पेसा असाध्यै संवेदनशील पेसा हो”, उहाँले भन्नुभयो, “पत्रकारले सधैँ समाज र पेसाप्रति संवेदनशील र उत्तरादायी बन्नुपर्छ ।” उहाँले मिसनबाट सुरु भएको पत्रकारिताले अहिले व्यावसायिक रूप लिएकाले यसको भविष्य पनि राम्रो रहेको अनुभव सुनाउनुभयो ।
सूचना (समाचार) मा शक्ति हुने हुनाले यो सत्यतथ्यमा आधारित हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । “गतल समाचारले समाजलाई नै प्रदूषित पार्ने भएकाले सत्यतथ्यमा आधारित समाचारमा विशेष चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले समाचारका लागि सूचना सङ्कलन गर्दा सत्यतथ्यमा विशेष चनाखो हुनुपर्ने औँल्याउँदै पत्रकारितामा नयाँ पुस्ता आउन जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ पुस्ताले पत्रकारिता क्षेत्रमा नयाँ आयाम थप्न सक्नुपर्नेमा समेत जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झाले थ्री आईअर्थात् इन्फरमेशन (सूचना), इमेज (व्यक्तित्व) र इनकम (आम्दानी)बीच सम्बन्ध रहने जनाउनुभयो । “जोसँग सूचना छ, उसको इमेज समाजमा राम्रो हुने र उसको इनकम पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।
समाजमा सूचना पहिला पाउनेमध्ये पत्रकार पनि रहेको भन्दै उहाँले सूचनाले मानिसलाई प्रगतितर्फ लाने भएकाले पनि पत्रकारिताको महत्व रहेको बताउनुभयो । कलेजका पत्रकारिता विषयमा सहप्राध्यापक कृष्ण किसीले पत्रकारिताको आधार नै अभ्यास भएकाले विद्यार्थीलाई प्रत्येक शुक्रबार अभ्यास गराउने गरिएको जानकारी दिनुभयो । कहिले आगन्तुक प्राध्यापक (गेष्ट लेक्चर), कहिले मिडिया भिजिट, कहिले फिल्ड रिपोर्टिङलगायतका अभ्यासमा विद्यार्थीलाई सहभागी गराउँदै आएको उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया