सन्दीपले अब नेपालबाट खेल्न नपाउने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अब नेपालको राष्ट्रिय टोलीबाट खेल्न नपाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई एक युवतीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेसँगै उनले नेपाली टोलीबाट खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘सन्दीप अब नेपालको टोलीमा हुँदैनन् । अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा हुने छैनन् । यदि अर्को आदेशबाट सफाइ पाएको खण्डमा उनी नेपाली टोलीमा हुनेछन् । अन्यथा उनले नेपालको जर्सीबाट खेल्न पाउँने छैनन्,’ क्यानका अध्यक्ष चन्दले हाम्रो खेलकुदसँग भने ।

‘राष्ट्रिय जर्सीमा खेलाउन अब मिलेन । उनले अरु कुरा पाउँछन् । अभ्यास पनि गर्न पाउँछन् । यो हामीसँग सम्बन्धी मुद्दा पनि होइन , उनले थपे,’ यदि म्याच फिक्सिङ वा स्पट भएको भए कुनैपनि प्रतियोगिता खेल्न पाउने थिएन । अरु खेल्ने वा नखेल्ने उसको कुरा हो । तर नेपालको जर्सीबाट पाउँदैनन् ।’

गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते युवतीले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

सन्दीपलाई गत वर्ष पुष २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दा लाग्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए । उक्त मुद्दासँगै सन्दीपलाई क्यानले कप्तानबाट पनि हटाएको थियो ।