पुरानै लयमा फर्कँदै पर्यटन

दश लाखभन्दा बढी भित्रिए पर्यटक

सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् ।

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो ।

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष पर्यटक आगमन उत्साहवद्र्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।”

पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अपेक्षा छ । “सरकारको १० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो”, उहाँले भन्नुभयो, “एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।”

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उहाँले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उहाँको विश्वास छ ।