देउवाविरुद्ध आवाज बुलन्द पार्दै कांग्रेस नेताहरु

नेपाली कांग्रेसमा महासमिति बैठकका लागि जिल्ला जिल्लामा सम्मेलन जारी छ। लुम्बिनी प्रदेशमा भएको प्रदेश सम्मेलनमा भने नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध आवाज बुलन्द पार्न थालेका छन्।

शुक्रबारमात्र संस्थापनइतरका नेता डा शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए। ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छ,’ कोइरालाले भनेका थिए।

सोही मञ्चमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले शेखर कांग्रेसको सभापति भएको हेर्न जनताले चाहेको बताएका थिए। ‘एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन्, वर्तमान र भविष्य हेर्न सक्ने नेता डा शेखर कोइराला हुन्,’ उक्त सभामा भण्डारीले भनेका थिए।