प्याजमा ६७ प्रतिशत कर

भारतले प्याज निर्यातमा कर लगाएपछि नेपालमा प्याजको मूल्य अकासिएको छ। गत महिना कालीमाटी फलफूल तथा तरकारी बजारमा थोकमा प्रतिकिलो ५० रुपैयाँ पर्ने प्याजलाई अहिले ७२ रुपैयाँ पर्छ। खुद्रा पसलहरुमा भने प्याज १०० रुपैयाँसम्म पुगेको छ।

भदौ ३ गते भारतको अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको थियो। घरेलु बजारमा प्याजको बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न गरिएको यो निर्णय आगामी पुस १५ सम्म लागु हुनेछ। जसकारण भारतबाट आउने प्याज महँगो भएको हो। यस्तै, नेपाल सरकारले पनि पछिल्लो बजेटमार्फत १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था गरेको थियो। जसकारण थोकमा ३०/३५ रुपैयाँ पर्ने प्याजको मूल्य ५०/५५ रुपैयाँ पुगेको थियो।

नेपाल प्याजको लागि पूर्णरुपमा भारतसँग निर्भर छ। सिजनमा प्याजको उत्पादन भए पनि कालीमाटी तरकारी बजारमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। प्याजसम्बन्धी सरकारको पछिल्लो नीति र भारतले निर्यातमा लगाएको करको असर व्यवसायी र उपभोक्तामा परेको हो। पहिले व्यवसायीले तरकारीमा ९ प्रतिशत कृषि सुधार शुल्कसहित पाँच प्रतिशत अग्रिम आयकर गरेर १४ प्रतिशत कर तिर्ने गर्थे। सरकारले प्याजमा भ्याट लागू गरेपछि व्यापारीले २७ प्रतिशत कर तिर्नुपर्ने भयो। भारतले ४० प्रतिशत निर्यात कर लगाउँदा अहिले नेपाली व्यापारीहरुले ६७ प्रतिशत कर तिर्नुपरेको छ।

प्याजको व्यवसाय गर्दै आएका भरत उप्रेती कर बढी तिर्नुपर्दा आफूलाई निकै मर्का परेको सुनाउँछन्। ‘केहीअघि मात्रै नेपालमा कर बढेको। फेरि भारतले कर लगाउँदा हामी मर्कामा पर्‍यौँ। प्याज नल्याउँ बजारमा अभाव हुन्छ, ल्याउँदा करमाथि कर लाग्दा नाफा नै छैन,’ उनले भने।

उनका अनुसार अहिले प्याज निर्यातको मात्रा पहिलाको तुलनाभन्दा घटेको छ। ‘भन्सारबाट दैनिक रुपमा प्याज आए पनि मात्रा घटेको छ। पहिले दुइ दिनमा एक गाडी प्याज ल्याइन्थ्यो। तर, अहिले भने पाँचदिनमा एक गाडी ल्याउने गरेका छौं। अहिले नाफा हुने अवस्था छैन। वर्षभरि काम गर्नेले कुनै दिन नाफा नराखेपछि बेच्नुपर्छ।’ अर्का व्यापारी रविन्द्र श्रेष्ठ पनि भारतले निर्यातमा कर लगाएपछि आयात घटाएको बताउँछन्। श्रेष्ठले कीर्तिपुरमा एस.एस प्याज स्टोरमार्फत थोक तथा खुद्रा मूल्यमा प्याज बिक्री गर्छन्।

‘भारतले निर्यातमा कर लगाएपछि प्याजको आयात घटेको छ। पहिले महिनामा ५ हजार किलो प्याज आउन्थे। तर, यो महिना भने २ हजार किलो मात्रै प्याज आएको छ,’ उनले भने। भारतले निर्यातमा कर लगाएसँगै अहिले कालोबजारी समेत मौलाएको छ। सरकारले प्याजको कालोबजारी रोक्न अनुगमन पनि गरिरहेको छ। भारतले कर लगाएपछि तीन-चार दिन प्याज आउन केही गाह्रो भएको व्यापारीहरु बताउँछन्। अहिले भने अवस्था सहज भइसकेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका उप-निर्देशक विनय श्रेष्ठ बताउँछन्।