कृषि ऋण पाउने ११ प्रतिशत

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय कृषिगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । वि.सं. २०१८ सालदेखि हरेक दश-दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ बैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।

तीनै तहका सरकारहरुलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित “कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार” मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयतापछिको पहिलो कृषिगणना भएको थियो । विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बैज्ञानिक विधिबाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरु छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी बिस्तृत विवरण संकलनका लागि पाँच हजार एक सय ५० गणक, एक हजार तीन सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरु सहित करिव सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए। तथ्याङ्क सङ्कलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिएको थियो भने काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा Computer-Assisted Personal Interviewing (CAPI) प्रविधिमा आधारित ट्याव्लेटको प्रयोग गरी तथ्यांक सङ्कलन गरिएको थियो ।

कृषिगणनामा मूलतः संरचनागत तथ्याङ्क जस्तै स्थायी र अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाइको अवस्था, कृषि औजार र सामाग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न पशुपन्छीको संख्या, गैरआवसिय भवनको प्रयोग, कृषि कामदारसम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरीपालन, पुष्पखेतीजस्ता सहायक कृषि क्रियाकलापसम्बन्धी विवरणलाई समेटिएको कार्यालयले जनाएको छ । यसरी नै समयानुकुल विषयवस्तु कृषिऋण, बीमा र अनुदानको अवस्था, कृषिमा वातावरणीय पक्ष, खाद्यान्नको पर्याप्तता, कृषि वजारसम्मको पहुँच आदिजस्ता विषयहरु समेत समेटेर तथ्याङ्क सङ्ककलन गरी प्रकाशन गरिएको कार्यालयले उल्लेख गरेको छ ।