राजनीतिक दाउपेच ‘ऐँचो पैँचो’

राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढङ्गले चलचित्र ‘ऐँचो पैँचो’ मा देखाउन खोजिएको छ । मुलुककोे राजनीतिमा देखिँदै आएको परिदृश्यलाई चलचित्रको पर्दामा कटाक्ष र व्यङ्ग्य गरिएको छ । चलचित्रले राजनीतिकर्मीलाई अब सच्चिनुपर्ने सन्देश दिएको छ । चलचित्रमा बनावटी होइन राजनीतिज्ञकै यथार्थ कथा प्रस्तुत गरिएको छ ।

दिलेन्द्र (मुकुन भुसाल) पार्टीका लागि आफ्नै नैतिकताले दिएसम्म जे गर्न पनि तयार हुनुहुन्छ । उहाँलाई राजनीतिमा रुचि छ तर राजनीतिको फोहोरी खेलसँग अनभिज्ञ हुनुहुन्छ । उहाँको परिवारलाई उहाँ राजनीतिमा लागेको फिटिक्कै मन परेको हुँदैन तर पनि दिलेन्द्र आफ्ना साथी सुन्दर (कोसिस क्षेत्री) सँंग देशमा केही गर्नु पर्छ भन्ने हेतुले राजनीतिमा होमिनुभएको छ । उहाँको सबैभन्दा मिल्ने साथी सीताराम (सुशील सिटौला) लाई राजनीति मन पर्दैन तर उहाँ दिलेन्द्रलाई हौसला दिन सधैँ साथमा नै रहनुहुन्छ ।

दिलेन्द्र सत्मार्गमा लागेर गाउँको सेवामा लागिरहनुहुन्छ भने सुन्दर विपक्षी नेतासँग मिलेर पैसा कमाउने दाउपेचमा होमिनुहुन्छ । यसको फल दिलेन्द्र राजनीतिमा खासै फड्को मार्न सक्नु हुन्न तर सुन्दरको राजनीतिक जीवनशैलीमा एकाएक परिवर्तन आउँछ । दिलेन्द्रले सुन्दरबाट अनेकन धोका पनि पाउनुहुन्छ र केही समयका लागि राजनीतिलाई आफ्नो पारिवारिक जमघटमा लाग्नुहुन्छ । यसैबिच दिलेन्द्रको विवाहको पनि कुरा आउँछ । यसले कथामा ट्विस्ट ल्याउँछ । दिलेन्द्रले मन पराउनुभएको केटी रूपा (स्वस्तिमा खड्का) विवाहको समय अर्कै केटासँग भाग्नुहुन्छ र उहाँको विवाह रूपाको दिदी पुष्पा (वर्षा राउत) सँग गराइन्छ । जसलाई दिलेन्द्रकै साथी सीतारामले एकतर्फी माया गर्नुभएको हुन्छ । यसपछि चलचित्रको कथामा अनेकन ट्विस्ट आउँछन् । पुष्पासँग विवाह गरेपछि दिलेन्द्रको राजनीतिक जीवनशैली सहज हुन्छ त ? चलचित्रको कथामा राजनीतिकबाहेक रूपाले दिलेन्द्रलाई किन धोका दिएर अर्को केटासँग भाग्नुभयो भन्ने कुराले पनि ठुलै ‘सस्पेन्स’ सिर्जना गर्छ । चलचित्रमा गाउँमा केही गर्न नसकेर सीताराम बिदेसिनुको पीडा, दिलेन्द्र र सुन्दरबिच फेरि हुने चुनावको लडाइँ र रूपाले सुन्दरलाई चुनावमा हराउने खेलेको नजानिँदो षड्यन्त्रले दर्शकलाई दुई घण्टा हलमा बाँधेर राख्न बाध्य बनाउँछ ।

निर्देशक कृषा चौलागाईंको निर्देशकीय पक्ष बेजोड छ । पहिलो डेब्यु निर्देशनमा नै उहाँले बाजी मार्नुभएको छ । उहाँको काममा कतै खोट लगाउने ठाउँ छैन । अभिमन्यु निरवीको लेखन र चौलागाईंको निर्देशन जमेको छ । अभिनेता सुशील सिटौलाको अभिनयको तारिफ जति गरे पनि कम हुन्छ । मुकुनको भन्दा उहाँको अभिनयले दर्शकको मन जित्छ । मुकुनको अभिनय ठिकठाक छ । अभिनेतृ स्वस्तिमा खड्कालाई चुलबुले केटीको भूमिका सुहाएको छ भने अर्की अभिनेतृ वर्षा राउतले गम्भीर भूमिकामा मन छुने अभिनय गर्नुभएको छ । ‘काले केटाले’ गीतलाई अवश्य नै धेरैले रुचाउनु हुनेछ । चलचित्रको गीतसङ्गीत पनि राम्रो छ । कलाकारहरू कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीको अभिनयले पनि चलचित्रलाई अझ माथि उकास्ने काम गर्छ । चलचित्र हेरेपछि दर्शकको मनभित्र चलचित्रको अर्को सिक्वेल कहिले बन्ला भन्ने अवश्य हुटहुटी जाग्छ ।