छब्बीस लाख रुपियाँ सहित भारतीय नागरिक पक्राउ

सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट श्रोत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका नोटमा हजार, सय र पचास दरका  नेपाली रुपियाँ छन् । प्रहरीले मटिहानी तीन स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडीे चेक प्वाइन्ट थापेर साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीका अनुसार ज १२ प  १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा उक्त नोट फेला परेको हो ।