सार्वजनिक खरिदलाई प्रभावकारी बनाइने

काठमाडौँ । सार्वजनिक खरिदको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज आफ्नो १७औँ स्थापना दिवस मनाउँदैछ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउनेलगायतको उद्देश्यले विसं २०६४ भदौ ३ गते कार्यालयको स्थापना भएको हो ।

कार्र्यालय स्थापापछिको अवधिमा नेपालमा भएका सार्वजनिक खरिदका धेरै महत्त्वपूर्ण कार्यमध्ये रु २० लाखभन्दा बढीका सबै सार्वजनिक खरिदमा विद्युतीय खरिद प्रणालीको अवलम्बन महत्त्वपूर्ण उपलब्धि रहेको कार्यालयका सचिव डा दामोदर रेग्मी बताउनुहुन्छ ।

सबै संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सोअन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थानमा यो व्यवस्था लागू भएको छ ।

कम्पनी, बैंक वा समिति वा प्रचलित कानुनबमोजिम सार्वजनिकस्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्रले सार्वजनिक खरिदसम्बन्धी कानुन पालना गर्नुपर्छ ।