गठबन्धन तोड्न खोज्ने षड्यन्त्रप्रति सचेत रहनुस् : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको छ ।
समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उहाँले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “कतिपय कम्युनिष्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । दलभित्रका कमी–कमजोरी र सीमालाई बुझेर सङ्गठन विस्तार र शक्ति वृद्धिमा ध्यान दिन आवश्यक छ ।”
पूँजीवाद अस्तित्वको सङ्कटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको धारणा राख्नुभयो ।
विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ ।”
नेकपा (माओवादी केन्द्र)का नेतृ पम्फा भुसालले नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको बताउनुभयो । उहाँले मुलुकको अभिभारा र माग रहेकाले एउटै बलियो कम्युनिस्ट पार्टी बनाएर समाजवाद हासिल गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने आजको आवश्यकता भएको स्पष्ट गर्नुभयो ।
नेतृ भुसालले भन्नुभयो, “समाजवाद अहिले रक्षात्मकरूपमा रहेको छ, सबै दलको कार्यदिशा समाजवाद नै बनेर अघि बढिरहेको छ । एउटै बलियो कम्युनिस्ट पार्टी नभई समाजवाद हासिल गर्न सकिन्न ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया