डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राख्नुभएको छ । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) द्वारा आयोजित साउथ एसिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै सारफीका उपाध्यक्षसमेत रहनुभएका गभर्नर अधिकारीले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “डिजिटल वित्तीय सेवा हाम्रो बैङ्किङ प्रणालीको अभिन्न अङ्ग हो । कोभिड जस्ता सङ्कट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पु-याउँछ ।” बैठकमा उहाँले दक्षिण एसियाली मुलुकहरूबिचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
साथै दक्षिण एसिया क्षेत्रमा वित्तीय साक्षरता र समावेशीकरणलाई प्रवर्धन गर्न सबैले ऐक्यबद्धता जनाउनुपर्ने धारणा उहाँले राख्नुभयो । सो अवसरमा गभर्नर अधिकारीले नेपालमा डिजिटल भुक्तानीको नीतिगत तथा प्राविधिक पूर्वाधार विकास, अन्तरदेशीय भुक्तानी संयन्त्र, वित्तीय ग्राहक संरक्षण, लघुवित्त सेवाको प्रवर्धनलगायतका क्षेत्रमा भएका प्रगतिबारे चर्चा गर्नुभयो ।
बैठकमा गभर्नर अधिकारीले नेपालको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सामा मोबाइल बैङ्किङको पहुँच पुगेको उल्लेख गर्दै पछिल्लो समयमा क्युआर कोड, डिजिटल वालेट जस्ता माध्यमबाट हुने भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो ।
डिजिटल भुक्तानीको तीव्र विकाससँगै प्रणालीका सम्भावित जोखिमलाई सम्बोधन गर्न नेपालमा आवश्यक संयन्त्र विकास गरिएको विचार गभर्नर अधिकारीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “साइबर सुरक्षा जोखिमलाई केन्द्रित गर्दै बैङ्क तथा वित्तीय संस्थाको ‘सिस्टम अडिट’ गराई सुपरिवेक्षकीय अनुगमनसमेत गर्ने अभ्यास सुरु गरेका छौँ ।”
बैठकमा बङ्गलादेश बैङ्कका डेपुटी गभर्नर नुरुन नाहर, सेन्ट्रल बैङ्क अफ श्रीलङ्काका डेपुटी गभर्नर टिएमजेवाइपी फर्नान्डो, माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी अफ बङ्गलादेशका कार्यकारी उपाध्यक्ष मोहम्मद फासिउल्लाह र सार्क मुलुकका केन्द्रीय बैङ्कका अन्य पदाधिकारीको सहभागिता थियो । माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिमले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो । दक्षिण एसियामा वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सन् २०२२ सेम्टेम्बरमा एलाइन्स फर फाइनान्सियल इन्क्लुुजन (एएफआई) को क्षेत्रीय संयन्त्रका रूपमा साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को स्थापना भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया