लुम्बिनीमा राजस्व र व्ययको छलफलका लागि प्रस्ताव पेश

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानमाथि छलफलका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको छ । आज बसेको संसद् बैठकमाथि अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १३२ को उपनियम ३ बमोजिम आगामी आव २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको हो ।

 

नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूको विरोधका बीच मन्त्री मास्कीले उक्त प्रस्ताव पेश गर्नुभएको हो । आइतबार पनि एमाले सदस्यहरूले खारेज गरिएका निर्देशनालयहरूको फिर्ताको माग गर्दै नाराबाजी गर्नुभयो । संसदमा १५ मिनेट नाराबाजीपछि सभामुख तुलाराम घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लािग बैठक स्थगित गर्नुभएको छ ।

 

यही असार १३ गते पनि एमाले सदस्यहरूले विरोध जनाएपछि संसद् बैठक आइतबारका लागि सारिएको थियो । दिउँसो १ बजे बस्ने भनिएको बैठक आज सवा ३ बजे मात्रै सुरु भएको थियो ।