राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने

बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या देखिएको छ । विगतमा तरलता अभावका कारण मागअनुसारको कर्जा प्रवाह गर्न नसक्दा बैंकहरूले तरलता अभावको समस्या झेलेका थिए । तर, अहिले भने बैंकिङ क्षेत्रमा निक्षेप बढे पनि सोअनुसार कर्जाको माग बढ्न सकेको छैन । यसले गर्दा पनि बैंकिङ क्षेत्रमा अहिले अधिक अर्थात् चाहिनेभन्दा बढी तरलता रहेको छ । यस्तो तरलताको दुरूपयोग नहोस् भनेर राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर पुनः बजारबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

गतसाता अर्थात् यही असार ७ गते पनि राष्ट्र बैंकले सातदिने अवधिको रिभर्स रिपो जारी गरेर १० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिचेको थियो । आज आइतबार पनि राष्ट्र बैंकले सातदिने अवधिको रिभर्स रिपो जारी गरेर २० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्न लागेको हो । राष्ट्र बैंकका अनुुसार रिभर्स रिपोको लागि बैंक तथा फाइनान्स कम्पनीहरूले आज अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ भने रिभर्स रिपोको परिपक्व हुने अवधि यही असार १७ गते तोकिएको छ ।

वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या भएको खण्डमा राष्ट्र बैंकले उक्त अभावलाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । यसअन्तर्गत राष्ट्र बैंकले विभिन्न समयमा बैंक तथा फाइनान्स कम्पनीहरूलाई आफैँले बिक्री गरेको टे«जरी बिलहरूहरू बोलकबोलको माध्यमद्वारा आफैँले खरिद गरी बजारमा रकम पठाउने गर्छ । अर्कोतर्फ बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरूपयोग नहोस्, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्छ ।