११ महिनाको व्यापारघाटा १३ खर्ब ३७ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ)सम्म व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारमा सो घाटा व्यहोरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव २१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा व्यापारघाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको सुरुदेखि नै सरकारले विभिन्न १० विलासी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले एक हजारभन्दा बढी वस्तुको आयात प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यिनै कारण गतवर्षभन्दा चालू आर्थिक वर्षमा वैदेशिक व्यापार घट्न जाँदा व्यापारघाटा कम देखिएको हो ।

विभागका अनुसार ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात भएको थियो । यस्तै, निर्यात जम्मा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ७४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब ८३ करोडको निर्यात भएको थियो । यो अवधिमा मुलुकले कुल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८४ प्रतिशत छ ।

निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाले व्यापारघाटाले निरन्तरता पाउँदै आएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा सीमा जोडिएका दुई मुलुक चीन र भारतसँग रहेको छ । विभागका अनुसार नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ ।

विभागका अनुसार कुल व्यापारघाटामा भारतसँगको हिस्सा ६३ प्रतिशत छ । ११ महिनामा भारतसँग मात्रै आठ खर्ब ३८ अर्ब ८६ करोड रुपैयाँको व्यापारघाटा भएकोे छ । यो अवधिमा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट ९८ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । कुल व्यापारघाटामा चीनसँगको हिस्सा १५ प्रतिशत छ । ११ महिनामा चीनसँग दुई खर्ब ८४ करोडको व्यापारघाटा भएको छ । चीनबाट नेपालमा दुई खर्ब दुई अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने नेपालबाट चीनमा एक अर्ब ५२ करोडको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा इन्डोनेसिया, यूएई, अर्जेन्टिना, मलेसियासँगको व्यापारघाटा धेरै छ ।

कुल आयातमध्ये डिजेल, पेट्रोल र एलपीजी ग्यासको हिस्सा १७ दशमलव १० प्रतिशत छ । ११ महिनामा कुल दुई खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल एक खर्ब ३७ अर्ब ६० करोड रुपैयाँको आयात भएको छ । यस्तै पेट्रोल ६१ अर्ब ३९ करोड रुपैयाँ र एलपीजी ग्यास ५४ अर्ब ३३ करोड रुपैयाँको आयात भएकोे छ । पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै आयात फलामको ३९ अर्ब ८१ करोड रुपैयाँको भएको छ । त्यसपछि कच्चा पाम तेल २१ अर्ब ६४ करोड रुपैयाँ, कच्चा भटमासको तेल २० अर्ब ५० करोड रुपैयाँ, औषधि २० अर्ब ५० करोड, स्टिल १९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यो अवधिका सुन १८ अर्ब ९१ करोड रुपैयाँको आयात भएको छ । मकै १५ अर्ब रुपैयाँ, सूर्यमुखी तेल १३ अर्ब ४३ करोड रुपैयाँको आयात भएको छ ।

विभागका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा, कार्पेट, जिंक सिटलगायतका वस्तुको निर्यात बढ्दा अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतका वस्तुको निर्यात घटेको छ । वस्तुगत आधारमा पेट्रालियम पदार्थ, सुन, विद्युतीय सामग्री, भटमास, अन्न, औषधि र दूरसञ्चारका सामग्रीको आयात उच्च रहेको छ । चालू आर्थिक वर्षको समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब छ करोड रुपैयाँ थियो ।