आगामी आर्थिक वर्षको बजेट सच्याउन सत्तारुढ, समाजवादी र जसपाको दबाब

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका विषयमा असन्तुष्टि बढेसँगै बजेट सच्याउन सत्तारुढ नेकपा एकीकृत समाजवादी र जसपाले दबाब दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरूको असन्तुष्टिबारे छलफल भएको नेताहरुले बताएका छन् ।

आगामी बजेटलाई लिएर सबैभन्दा असन्तुष्टि नेकपा एकीकृत समाजवादी पार्टीले देखाइरहेको छ । समाजवादीका सांसदहरुले संसद बैठकमै बजेट नसच्याए सरकारबाटै बाहिरिने चेतावनी पनि दिएका छन् ।

अध्यक्ष माधवकुमार नेपालले पनि कांग्रेस र माओवादीले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै विरोध गरिरहनुभएको छ । सोही क्रममा अध्यक्ष नेपालले सोमबार प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा उहाँले बजेटमा रहेका कमजोरी नसच्याए सत्ता सहयात्राबारे सोच्नुपर्ने अवस्था आउने बताउनुभएको थियो । यस्तै,जनता समाजवादी पार्टीले पनि ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन हुनुपर्ने अडान राखेको छ ।

जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग गरिसकेको छ । उसले पिछडिएको क्षेत्रमा न्यायिक बजेट विनियोजन नभएको भन्दै बजेटको दिशा, नीति र विनियोजन नै गलत भएको भन्दै आपत्ति जनाएको छ ।

सरकारमा सहभागी दलहरूले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर संशोधनको सर्त राखेपछि गठबन्धनमा छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालले बजेटमा ‘मिल्न सक्ने ठाउँमा मिलाउन’ अर्थमन्त्रीलाई निर्देशन दिएपनि दलहरु भने ढुक्कमा छैनन् ।