आर्थिक वृद्धि ४.१ प्रतिशत राख्ने लक्ष्य
काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ ।
दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ । पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलङ्काको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनमा विश्वका विकसित देशहरूले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव बिस्तारै कम भएको उल्लेख छ । यद्यपि आर्थिक वृद्धिमा भएको सुस्तताले भने निरन्तरता पाएको उल्लेख जनाइएको छ । खास गरी श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक सङ्कट बेहोर्नु परेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी नीतिगत अनिश्चितता र आयातका लागि विदेशी मुद्रा सञ्चितिको अपर्याप्तता जस्ता सङ्कट दक्षिण एसियाली मुलुकले भोग्नु परेको पाइएको छ ।
प्रतिवेदनले समग्रमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण छ । उच्च सरकारी र बाह्य ऋण, न्यून विदेशी मुद्राको सञ्चिति र सामाजिक आर्थिक दबाबले यस क्षेत्रको आर्थिक वृद्धिलाई असर पु-याउने अनुमान छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया