उपलब्धिजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन्।

मंगलबार काठमाडौंमा खिजीदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजीदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए।

उनले ओखलढुंगाको खिजीदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए।

उनले भने, ‘हेलिकप्टर को चढिएन? भयो के? यतिसम्म भयो कि ठूला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो। कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने। ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो। भ्रमण पनि जान्नँ भन्दिएँ। मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने। त्यसैले यसपालि इण्डिया पनि नगएको। खासमा पर्यटनमन्त्री त सवारी मन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले।’