आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताउनुभयो । उहाँले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन शुरु गरिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटको प्रशंसा गर्नुभयो । उहाँले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
गभर्नर अधिकारीले यो वर्ष राजस्वमा परेको दबाब न्युनिकरण गर्न धेरै काम भएको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया