सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रमेश रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ ।

मंगलबार जनकपुरमा व्यापारीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताउनुभयो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । मन्त्री रिजालले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताउनु भयो ।

मन्त्री रिजालले देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताउनुभयो । पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा बिरोध भइरहेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।