११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु भएन
बिपक्षी दलहरुले बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै बिरोध गर्ने भएपछि प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य बिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । बिपक्षी दलहरुले असम्वन्धित व्यक्ति बजेट निर्माणको प्रक्रियामा सामेल भएको विषयको छानबिन हुनुपर्ने बताएका छन् ।
बिपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसिरहेको छ । जसमा बिपक्षी दलहरुले अनधिकृत व्यक्ति सामेल भएकोबारे छानबिन समिति बनाउनु पर्ने माग गरेका छन् । उता यस बिषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने कुरा नबुझी गलत प्रचार गरिएको बताउँदै आउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा पनि सरकारले गत जेठ १५ गते पेश गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । सोमबारबाट प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया