पेट्रोलियम पाइपलाइनको ४० प्रतिशत काम सम्पन्न
अगामी ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जमा दोस्रो चरण काम तीव्र गतिमा अगाडी बढेको छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको हो ।
भारतीय आयल निगमसँगको सम्झौता अनुसार अगामी डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र उद्घाटन गर्ने गरी काम भइरहेको निगमले जनाएको छ । नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख विनीतमणि उपाध्यायले भवन निर्माणको काम ५० देखि ६० प्रतिशत सम्पन्न भएको बताएका छन् । उनले पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्कीको हकमा भने १० देखि १५ प्रतिशत मात्रै सम्पन्न भएको जनाए । ‘समग्रमा ३० देखि ४० प्रतिशतसम्म पूर्वाधार निर्माणको काम भइसकेको छ, यसमा कुनै अलि बेसी कुनै अलि कम भएको छ’ उपाध्यायले भने ‘अहिले दोस्रो फेज अन्तर्गत हाम्रो मुख्य लक्ष्य भनेको पेट्रोल आयात गर्ने हो, तर यसका लागि हामीसँग भण्डारण गर्ने व्यवस्था नहुँदा समस्या थियो, अहिले ट्याङ्की निर्माणको काम धमाधम अगाडी बढिरहेको छ ।’
पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड नेपाल आयल निगमको लगानी रहेको छ । पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल ट्याङ्की निर्माण भइहरेको छ जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो ।
आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका इन्जिनियर प्रशान्त भट्टराईले आईओसीले ४१÷४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५/५ हजार किलोलिटरको २ वटा ट्याङ्की निर्माण गर्दैछ जसमा पेट्रोल र डिजेल भण्डारण गरिने बताएका छन् ।
साना २ वटा २५० लाख किलोटिरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पिएमसिसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक ८ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न ‘बे हाउस’ निर्माणको काम भइरहेको इन्जिनियर भट्टराईले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया