१७ अर्ब खर्चेर नेपालमा पाइपलाइन बनाउँदै भारत
भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा लामो समयदेखि छलफल हुँदै आएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा दुई सरकारबीच जिटुजी गर्ने सहमति भएको हो। प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए। ‘अनुदानमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सरकार सहमत भएको छ,’ मन्त्री रिजालले भने, ‘आसन्न भारत भ्रमणमा सम्झौता हुन्छ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा मन्त्री रिजाल पनि सहभागी हुनेछन्।
निगमले सिलुगढी–झापा, अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन, झापा र चितवनको लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माण गर्ने योजना बनाएको थियो। यी चारवटा परियोजनामध्ये सिलुगढी–झापा पाइपलाइन, अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन, झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिनेछ। यी सबै परियोजनाको निर्माण भने भारत सरकार स्वामित्वको आइओसीले गर्नेछ। चितवनको टर्मिनल पनि भारतले निर्माण गर्ने गरी जिटुजी हुनेछ। तर यसको निर्माणको खर्च भने निगमले बेहोर्नेगरी जिटुजी गर्न लागिएको हो।
नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ। सन् २०२१ मा तयार गरिएकाले मूल्यवृद्धिसँगै लागत बढ्ने अनुमान छ। ६२ किलोमिटर लामो अमलेखगन्जदेखि लोथरसम्मको पाइपलाइन निर्माण लागत २७४ करोड भारु छ। चितवनको ग्रिनफिल्ड टर्मिनल निर्माणको लागत ६१८ करोड भारु छ। यो टर्मिनल निर्माणको खर्च निगमले बेहोर्नेछ। त्यसैगरी ५० किलोमिटर लामो सिलगुढी–झापा पाइपलाइनको लागत २८८ करोड भारु र झापाको टर्मिनल निर्माण लागत ५०२ करोड भारु छ।
यी परियोजनाको आइओसी र निगमले संयुक्त रूपमा अध्ययन गरेका थिए। झापाको इन्धन भण्डारण टर्मिनलको क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता १ लाख ३ हजार १५० किलोलिटर हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया