आर्थिक अवस्था सन्तुलित छ : गभर्नर अधिकारी

काठमाडौ‌ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक अवस्थाको चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था सन्तुलित र सुरक्षित रहेको बताउनुभएको छ ।

पाकिस्तानको इस्लामाबादमा आयोजित सार्क फाइनान्स गभर्नरको ४३ औँ बैठकमा यसलाई नेपालको सफलताका रूपमा व्याख्या गर्नुभएको थियो ।

वैशाख १९ र २० मा आयोजित ४३ औँ चरणको यो बैठकमा उहाँले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता बिस्तारै कम हुँदै गएकोसमेत जानकारी गराउनुभएको थियो । उक्त बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैङ्कका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्बन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गर्नुभएको थियो ।

बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैङ्कहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनु पर्ने सहकार्यलगायतका एजेन्डामा पनि छलफल भएको राष्ट्र बैङ्कले जनाएको छ ।