एक वर्षमा फेरिए चार अर्थसचिव

एक वर्षको बीचमा चार जना अर्थसचिव फेरिएका छन् । राजनीतिक नेतृत्वले आफू अनुकूलका पात्र खोज्दा स्थायी सरकार भनिने कर्मचारीतन्त्र नै अस्थायी जस्तो बनेको छ । एक वर्षका बीचमा अर्थ मन्त्रालयमा चौथो अर्थतन्त्र लगातार मन्दीतिर गइरहँदा अर्थ मन्त्रालयमा अर्थसचिवहरु आउने–जाने क्रम रोकिएको छैन ।

गत वर्ष चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने समयमा मधु मरासिनी अर्थसचिव थिए । उनीसहित एक वर्ष बीचमा ४ जना अर्थसचिवहरु अर्थ मन्त्रालय भित्रिसके ।

तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानालाई विस्थापित गर्दै १७ साउन २०७८ मा अर्थसचिव बनेका मरासिनी गत वर्ष बजेट निर्माणका क्रममा अर्थमन्त्रालयभित्रै अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको विवादमा मुछिएका थिए । सुरुमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगै आफ्नो प्रतिरक्षामा उत्रिएका मरासिनी संसदीय छानविनपछि शर्मा अर्थमन्त्रीकै रुपमा मन्त्रालयमा फर्किएपछि अर्थमा हाजिर हुन चाहेनन् ।

तर्किएका मरासिनीलाई फर्काउनुभन्दा नयाँ अर्थसचिव ल्याउनुलाई नै मन्त्री शर्माले उत्तम विकल्प ठाने । शर्मा आफूसँगै विवादमा मुछिएपनि अर्थ सचिव हुन हतारिएका तत्कालीन राजस्व सचिव कृष्णहरि पुष्करलाई नै २६ साउन २०७८ मा अर्थ सचिव बनाइयो । राजस्व सचिव भएर मात्रै अर्थ मन्त्रालयभित्र छिरेका पुष्कर बजेट निर्माणको विवादको अप्ठेरोमा आफ्नो साथ दिएका कारण नै तत्कालीन शर्माको रोजाइमा परेका थिए । राजस्व सचिवमा रामेश्वर दंगाल आए ।

विवादास्पद पृष्ठभूमिका पुष्कर अर्थसचिव भएसँगै अर्थतन्त्रको अवस्था झन् अप्ठेरोतिर गयो । विदेशी मुद्रा सञ्चिति र उच्च दरको व्यापार घाटाका कारण आयातमा प्रतिबन्ध लगाउने नीतिसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुग्नुपर्यो । चुनावी सरकार रहिन्जेल पुष्करले अर्थ मन्त्रालय छाड्नु परेन । तर, १० पुसमा नेकपा एमालेसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै अर्थमन्त्री बनेका एमाले नेता विष्णु पौडेललाई पुष्करले आफू अर्थसचिव कायमै रहने गरी मनाउन सकेनन् ।

२१ पुसमा अर्थसचिवको कुर्सीमा नयाँ व्यक्ति आए, तोयम राया । राजस्व सचिवमा दंगालको ठाउँमा रामप्रसाद घिमिरे भित्रिए । तर, माओवादीले  कांग्रेससँग गठबन्धन गरेसँगै १५ फागुनमा नेकपा एमाले सरकारबाट बाहिरिएसँगै पौडेलले अर्थमन्त्रीबाट राजीनामा दिएर विदा भए । यसपछि एक महिना अर्थ मन्त्रालय राजनीतिक नेतृत्वविहीन रह्यो । १७ चैतमा अर्थमन्त्रीका रुपमा आएका डा. प्रकाशशरण महतले एक महिनासम्म नयाँ अर्थ सचिव नल्याएपछि बजेटअघि सचिव परिवर्तन नहुने ठानिएको थियो ।

बुधबार अर्थसचिवका रुपमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन्, सचिव रायाले उपराष्ट्रपति कार्यालयका लागि रमाना लिएर हिंडेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले अर्थसचिव फेरेको छ ।