निकले विद्युत प्राधिकरणलाई दियो नि:शुल्क ट्रान्सफर्मर

काठमाडौं। नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक)ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभीएको ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क हस्तान्तरण गरेको छ।

करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने सो ट्रान्सफर्मर आइतबार हस्तान्तरण गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको निकले जानकारी दिएको छ।

कार्यकारी निर्देशक घिसिङले यो ट्रान्सफर्मर उत्पादन तथा जडान कार्यले स्वच्छ ऊर्जा आपूर्तिमा ठूलो योगदान पुर्‍याउने बताए। जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए। निकले गत वर्ष नै यस्तो खालको ट्रान्सफर्मर उत्पादन गर्ने विषयमा प्राधिकरणसँग समझदारी गरको थियो।

हाल यो ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्क केन्द्रीय कार्यालय मातहतमा जडान गरिएको छ। प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ। यो ट्रान्सफर्मरले विद्युत आपूर्तिमा हुने उतारचढाव तथा भोल्टेजको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने जोशीले बताए।

‘विद्युत हुँदा पनि भोल्टेजकै कारणले पटक–पटक आपूर्तिमा समस्या आउने वा आपूर्ति विच्छेद भइरहने समस्यालाई यो ट्रान्सफर्मरले सन्तुलन मिलाउँछ,’ उनले भने, ‘यसले वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।’ निकमार्फत ट्रान्सफर्मर उत्पादनको उद्योगमा नयाँ प्रविधि भित्र्याउन मुख्य भूमिका निर्वाह गरेकोमा प्राधिकरणले एमआर जर्मनी र कारगिल अमेरिकालाई यस्तै सहयोग जारी राख्न आग्रह गरेको छ।

विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने यस खालको ट्रान्सफर्मर जर्मनीमा उत्पादन भएको एक वर्षभित्रै निकले सोही प्रविधिलाई नेपालमा भित्र्याएको जनाएको छ। जोशीका अनुसार प्राधिकरणको केन्द्रीय कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ।

नेपालमा ट्रान्सफर्मर उत्पादन गरी भुटान, बंगलादेश जस्ता देशमा निर्यातसमेत गर्दै आएको निकले पछिल्लो समय नयाँ प्रविधिमा आधारित वातावरणमैत्री र स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्‍याउने ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ।