आज देशका धेरैजसाे भू-भागमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।