हुलास स्टिलको व्यापार १५ अर्ब नाघ्यो

काठमाडौं। हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले एकैवर्ष १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ को तुलनामा २०२१/२२ मा कम्पनीको व्यापार ४ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ।

२०२०/२१ मा कम्पनीले ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा ६ अर्ब १४ करोड र २०१८/१९ मा ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार गरेको थियो। सन् २००६ मै पब्लिक कम्पनीमा रुपान्तरण भएको हुलास स्टिलले चार्न्ले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत र गोल्छा परिवारको बाँकी ५० प्रतिशत हिस्सा छ।

जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समान ६/६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्यसँग छ। हुलास स्टिलले विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्छ। कम्पनीसँग वार्षिक ४ लाख ८१ हजार टन उत्पादन क्षमता छ।
कम्पनीले ८ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।