थ्रीस्टार हाइड्रोपावरको आईपिओ आजबाट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले दुईचरण गरि आईपिओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आईपिओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ अर्थात साविकको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खाैले र राजापानी गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ अर्थात साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको सेयर नेपाल वैदेशिक रोजगारिमा रहेका नेपालीहरुका लागि उक्त आईपिओ निष्कासन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित दरले ७३ हजार ८७५ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

यस आईपिओमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिनु पर्ने हुन्छ ।