डढेलोले नियन्त्रणमा ध्यान देऊ
सुख्खा मौसम बढेसँगै डढेलो दिनप्रतिदिन फैलिरहेको छ । डढेलोले वन जंगल मात्र होइन, प्राकृतिक नियमसँग सन्तान हुर्काउने र यहाँको वातावरणमा रमाइरहेका वन्यजन्तुमासमेत प्रभाव पार्छ । हामीले बाहिरबाट हेर्दा देखिएको वन भित्रि रूपमा प्राकृतिक सम्पती र जीवन यापनको बाटो पनि हो । एक क्षणको आवेगका कारण करोडौंको धनजन र मानवीय क्षतिसमेत हुने गरेको छ ।
वन जंगलमा काँडा र झिक्रा बढेको बहानामा त्यसलाई सफा गर्न लगाइएको डढेलोले पुराना औषधीय गुण भएका वनस्पति र वोट विरुवाको नष्ट गर्छ । हजारौं वर्षदेखि आफ्नो अस्तित्व कायम गरेका यस्ता वनस्पतिहरू हाम्रा अमुल्य सम्पती हुन् । फेरि यी वनस्पती हुर्किनका लागि वर्षौ लाग्छ ।
डढेलोका कारण वनमा रहेका वन्यजन्तु र चराचुरुङगीको वासस्थान र प्रजाति नै नष्ट हुन सक्छन् । हरेकको आफ्नो वासस्थानमा क्षति पुगेका कारण ती जीवजन्तु लोप हुन सक्छन् । यसका लागि वन सफाइको नाममा लगाउने डढेलो नियन्त्रण गर्न जनचेतना जगाउन र सचेत हुन जरुरी छ ।
वन जंगलमा आगो लगाउनेलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न सके यसमा सफलता मिल्ने छ । वन मन्त्रालय, मातहतका विभाग, सामुदायिक वन उपभोक्ता महासंघ यसप्रति चनाखो रहनु पर्छ । वन विनासबाट उत्पन्न हुने कार्वनले वायुमण्डली वातावरणमासमेत असर गर्छ । वातावरण प्रदुषणका कारण फोक्सोमा संक्रमण भइ धेरैको ज्यान जाने जोखिम हुन्छ ।
सुख्खा याममा लागेको डढेकोको कारण साना बोट विरुवा नष्ट भएर जान्छन् । जसका कारण जमिनको माटो खुकुलो हुन्छ । खुकुलो भएको माटोले बर्खाको पानीको बहाव धान्न सक्दैन । जसका कारण भूक्षयको जोखिम बढ्छ । भूक्षयका कारण नदीको वहावमा असर गर्छ । नदीले बाटो र रूप परिवर्तन गर्दा खेतीयोग्य जमिनमा त्यसको प्रभाव पर्छ । यी यावत समस्याको समाधान गर्न डढेलो नियन्त्रण गर्न जरुरी छ ।
जनचेतनाले मात्र यसको रोकथान हुने संभावना टर्दै गएको छ । यसका लागि कानुनी दायरा र प्रहरीको निगरानी बढाएर डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी दायरमा ल्याउन सके यसले दीर्घकालिन रूपमा यो समस्या निराकरण भएर जाने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया