टुँडिखेलमा घोडेजात्रा पर्वको रौनक

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाईएकाे छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ,कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे लगायतका व्यक्ति उपस्थित हुनु भएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।