‘शिव’ले ल्याए प्रेम एक्सप्रेस

काठमाडौं । प्रेम गिरी ‘शिव’को प्रेम एक्सप्रेस नामक आत्मवृतान्त कृति लोकार्पण गरिएको छ । आइतबार काठमाडौंको हार्दिक होटलको काव्यहलमा एक कार्यक्रमकाबीच गिरीको सो कृति लोकार्पण गरिएको छ ।
कृति लोकार्पण कार्यक्रमको चाँजोपाँजो साहित्य सुधा नेपालले गरेको हो ।  कार्यक्रमको अध्यक्षता साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले गर्नु भएको थियोे । प्रमुख अतिथिको रूपमा बरिष्ठ नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’ हुनुहुन्थ्यो । विशिष्ट अतिथिहरुमा बरिष्ठ साहित्यकार कलानिधि दाहाल, अन्तर्राष्ट्रिय साहित्य समाजका पदम बिश्वकर्मा, नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निदेशक डा. तुलाराम गिरी, नेपाल सरकारका सहसचिव शरदराज आरण रहनु भएको थियो ।

कृतिको समीक्षा कृष्णदेव रिमालले गर्नु भएको थियो । रिमालले कृतिको चर्चा गर्दै कोही सर्वोच्च पदमा पुगेर आत्मवृतान्त लेख्छन् कोही लेखेर चर्चित हुन्छन् भन्दै कृतिको सुन्दर तरिकाले बर्णन गर्नु भएको थियो । जीवनका अनुभूति, अभिभावकीय ज्ञान, पारिवारिक मेलबारे बुझ्नका लागि सबैले यो कृति पढ्नुपर्ने रिमालले तर्क गर्नु भएको थियो । लेखनका हिसाबले कलात्मक रहेको यो कृति पुस्तकको संख्या बढाउनका लागि मात्र प्रकाशनका नभएको उहाँको भनाइ छ ।

डा. तुलाराम गिरीले आफुले कोरोना कालमा यो लेखकको आत्मवृतान्त पढेपछि प्रकाशन गर्नका लागि सुझाव दिएको बताउनु भयो । यस कृतिमा सहनशिलता र पारिवारि सम्बन्ध बढाउने सुत्र भएका कारण बुबा, आमा र छोरा भतिजा पुस्ताले एक पटक पढ्नु पर्ने तर्क राख्नु भयो ।

बरिष्ठ साहित्यकार कलानिधि दाहालले आफुलाई सर्वाङ्ग  नाङ्गो पार्न सकेमात्र आत्मवृतान्त सफल हुने भन्दै लेखकले त्यो गर्न सकेको नसकेको जाँच्नुपर्ने तर्क राख्नु भयो । विपिले जसरी आफ्नो आत्मवृतान्तमा लेख्न सके धेरैले त्यो नगरी छद्म तरिकाले आत्मवृतान्त लेख्ने गरेको अवस्थाले आत्मवृतान्तमा शंका बढेको बताउनु भयो । लेखन शुद्धताका लागि पहिला आफुलाई निष्कलंक पार्नुपर्ने दाहालको तर्क थियो ।

कृतिको बारेमा बोल्दै प्रमुख अतिथि डा. पुडासैनीले आत्मवृतान्त जीवनका हरेक मोडको सहायक भूमिका हो । त्यो समय जस्तै बग्दै र भोग्दै जाने प्रकृया भएको बताउँदै अमेरिकी लेखिकाले उदाहरण दिंदै उनले लेखेका सातौँ अंक आत्मसस्मरण सफल भएको खुलासा गर्नुभयो । सो कृतिमा लेखिकाले आफ्नो जीवनको सम्पूर्ण पक्षलाई समेटेको पुडासैनीले बताउनु भयो । आत्मवृतान्त जीवन उत्तराद्र्धहरुको संयोग पनि हो । यहाँ भोगिएका हरेक कुरा महत्वपूर्ण हुने भएकाले सबैलाई नढाटी प्रस्तुत गर्न सके त्यो आत्मवृतान्तमा न्याय हुने तर्क राख्नु भएको थियो ।
लेखक स्वयम्ले आफुले भोगेका अनुभवको दस्तावेजीकरणका लागि कृति लेखेको बताउनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य साहित्यसुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे मार्मिकले गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्युतकर्मी साहित्यिक समाजकाे तर्फबाट विष्णुप्रसाद आचार्यले गर्नु भएको थियो ।

कार्यक्रममा लेखक, साहित्यकार र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।