निल्नु न ओकेल्नु पार्याे नेप्सेले
एमालेले सरकार छोडने वित्तिकै ओरालो लागेको बजार पुन सम्हालयो । सम्हालिनुको प्रमुख कारण न्यून कारोबार र अघिल्लो हप्ताको अधिक घटाई हो । बजार जति घटछ त्यति खरिदकर्ताहरु सक्रिय हुने गरेको देखिएको छ भने बढदै गर्दा बिक्रेताहरु सक्रिय हुने गरेको छ । यसले बजार तल लाने समूह वा ठूला खेलाडीलाई धेरै तल लान सक्ने अबस्थामा पुर्याएकाे छैन । साथै आम लगानीकर्ताले पनि रणनैतिक लगानीलाई पछयाउन थालेको संकेत गर्दछ । जुन सेयर बजारमा हुने अस्वभाविक उतारचढाव नियन्त्रणको लागी आवश्यक रहेको छ ।
नियमित कारोबारको शुरुवातमा नेप्से उकालो लाग्न खोजेता पनि सफल हुन सकेन । आजको उच्चतम विन्दु २०४३।९९ नेप्से पुगे पश्चात ओरालो लागेको थियो । जब एमाले सरकारबाट बाहिरिने खबर सार्वजनिक भए पछि नेप्से तीब्ररुपमा ओरालो लाग्यो । १ बजेतिर नेप्से आजको न्यूनतम विन्दु १९९०।२७ मा पुगे पश्चात ओरालो थामियो । दुई बजे पश्चात विस्तार विस्तार उकालो लागेर अन्तिममा उच्चदरले उकालो लागेर हिजोको भन्दा केहि मुनिको विन्दु २०२३।५४ मा नेप्से रहि बजार बन्द भयो । आज पनि नेप्सेको क्यान्डल बनावटमा लामो पुच्छर बनेको छ ।
हिजोको तुलनामा आज कारोबार (भोलुम) २५% ले घटेको छ । करिब एक अर्ब ८९ करोड बराबरको कारोबार भएको छ । कुल कारोबारलाई १० मिनेटको अन्तरालमा विभाजन गर्दा साढे १२ तिर एमालेले सरकार छोडने खवर आउना साथ आजको तुलनात्मक उच्च भोलुम सहित तीब्ररुपमा नेप्से ओरालो लागेको छ । अन्तिम ३० मिनेटमा क्रमिकरुपमा भोलुम सुध्रिनुको साथै अन्तिम १० मिनेटमा आएको भोलुमले नेप्सेलाई उकालो दोहोर्याएको छ ।
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तलतिर फर्कन रोकिएको छ । मध्ये र तल्लो रेखा चाहिँ तल तिर नै फर्केको छ । नेप्सेले तल्लो ब्यान्डमा टेवा लिएर माथि गएको जुन सकारात्मक संकेत रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पहिलो टेवा रेखा (Support, S1) भन्दा मुनि बसेको छ । नेप्से दोस्रो टेवा रेखा (Support, 2)छेउछाउ पुगी आज पुनमाथि फर्केको छ ।भोली नेप्सेले पहिलो टेवा रेखा (Support, S1) छिचोलेर माथि गएमा नेप्से २१०० माथि पिभोट तहमा जाने सम्भावना पुन प्रबल हुन्छ ।
सेयर बजारमा आम लगानीकर्ताको पनि आवज र सक्रियता हुनुपर्छ । ठूलो संख्यामा रहेको साना तथा आम लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागी भईराखेमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन । आज पनि यसको पुष्टि भएको छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया