राईले पाए विष्णुहेम अक्षरमार्ग बालसाहित्य पुरस्कार
पूर्वबाट उदायका बालसाहित्यकार तथा पत्रकार श्रीराम राईलाई काभ्रेको पनौतीबाट प्रकाशन हुने अक्षरमार्ग साहित्यिक पत्रिकाले विष्णुहेम अक्षरमार्ग बालसाहित्य पुरस्कार प्रदान गरेको छ।
गत फाल्गुण १३ गते काभ्रेको पनौतीमा आयोजित वसन्त काव्य गोष्ठी २०७९ को अवसरमा बालसाहित्यकार राईलाई उक्त सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
साहित्यकार राईले नेपाली बालसाहित्यमा लामो समयदेखि अनवरत रूपमा कलम चलाउदै आएको भन्दै नगद सहित सम्मानपत्रले सम्मान गरेको अक्षर मार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुले बताउनुभएको छ ।
चर्चित बालकथासंग्रह पोलेको मकैका कथाकार राई नागरिक दैनिकमा आबद्ध रहेका छन्। नेपाली बालमनोविज्ञानको क्षेत्रमा कथाका माध्यमबाट सकरात्मक परिवर्तन गर्न सकिन्छ भनेर कथा,लघुकथा लेखनमा लाग्नुभएका राईलाई यसअघि पनि थुप्रै सम्मान प्राप्त भइसकेको जानकारी प्राप्त भएको छ।
समाज परिवर्तन गर्ने विभिन्न माध्यममध्ये लेखन तथा पत्रकारितामा पूर्वको खोटाङ जिल्लाबाट प्रकाशन हुने भावना साप्ताहिकबाट पत्रकारिताको रेखाङ्कन शुरू गरेका राईले साहित्यमा कविता, गीत,गजल,मुक्तक,हाइकु,कथा र विशेष गरी बालसाहित्यमा बालकथा र लघुकथामा कलम चलाउँदै आउनुभएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया