कर्णालीको रैथानेबाली संरक्षण

कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कृषि मन्त्रालयले प्राङ्गारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथानीबाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौँ, उवाँ, लट्टेलगायतको संरक्षण, प्रवद्र्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरुप विसं २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस मनाउन सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।

“कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने कुरा भ्रम हो”, उहाँले भन्नुभयो, “यो प्रदेश जहाँ गोठेमल प्रयोग गरी रैथानीबाली उत्पादन गरिन्छ । विषादी र मल प्रयोग छैन । त्यो हरित क्षेत्र हो । कम मात्रमा मलखाद तथा विषादी प्रयोग भएको पहेँलो क्षेत्र हो । जहाँ पूर्णतः विषादी र रासायनिक मल गरिएको छ त्यो खतरा अर्थात् रातो क्षेत्र हो ।”

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले पछिल्लो समयमा कोदो कहाँ फल्छ भनेर थाहा पाउन हाम्रा बालबालिकालाई गाह्रो अवस्था आएको बताउनुभयो । रैथानेबालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्व र वास्तविकता बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने प्रमुख सुनारले सुझाव दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्राङ्गारिक सम्भावना बोकेको एकमात्र प्रदेश भएको दाबी गर्नुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन । सुर्खेतमै आउँछ । तसर्थ रैथानीबालीको महत्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।”

उक्त मन्त्रालयका सचिव डा लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथानेबालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । यहाँका शिक्षण संस्थामा प्राङ्गारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उहाँको भनाइ थियो ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकरात्मक सन्देश गएको बताउनुभयो । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानीबालीको उत्पादकत्वमा वृद्धि ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

उक्त दिवसमा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथानेबालीको परिचय, त्यसको इतिहास, महत्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीमा हेला गरिएको बालीको नै अहिले नेपाली तथा विश्वबजारमा यसको मूल्य र महत्व बढ्दै गएको रहस्योद्घाटन गर्नुभयो ।

प्रवक्ता कठायतले भन्नुभयो, “मानिसहरूले महत्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथानेबालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।” बजारमा पाइने सेतो चामलभन्दा कोदो कैयन गुणामाथि भएको बताउँदै उहाँले खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा वृद्धि गरी त्यसको संरक्षण र प्रवद्र्धनका लागि प्रचार–प्रसार तथा निर्यातमा जोड दिइएको उहाँले बताउनुभयो ।

दिवसमा कोपिला भ्यालीले रैथानेबाली कोदो, फापर, चिनो, कागुनो, जौँ, उवा र मार्सी चामलबाट बनेका परिकार अतिथिहरूलाई खुवाएको थियो । उक्त दिवसमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायतका रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखी स्थानीय उत्पादन बिक्री–वितरण गरेको थियो ।