महालेखा परीक्षकको कार्यालयले बुझायो प्रदेश प्रमुख शर्मालाई प्रतिवेदन

महालेखा परीक्षकको कार्यालयले प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन आज प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालय प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय बागमती प्रदेशका नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन बुझाउने कार्यक्रममा नायब महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेको आर्थिक कारोबारको लेखा परीक्षण गरी तयार पारिएको प्रतिवेदनका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रतिवेदनबारे जानकारी लिनुहुँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आर्थिक वर्ष २०७७/०७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अङ्गीकार गर्न सघाउ पुर्या‌उने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख शर्माले महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिनेगरी आर्थिक क्रियाकलाप सञ्चालन गर्न प्रदेशका सम्बद्ध सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँल, महालेखा परीक्षकको कार्यालयका निर्देशक थवराज अधिकारी, लेखा परीक्षण अधिकारी दीपक आचार्य, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, शाखा अधिकृत इन्दिरा पौडेल, कानून अधिकृत प्रकाश चापागाईंलगायतको उपस्थिति थियो ।