एक वर्षमा ३ खर्ब २१ अर्बको पेट्रोलियम पदार्थ आयात

आर्थिक वर्ष २०७८/७९ मा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धन (एटीएफ) आयातमा ३ खर्ब २१ अर्ब नेपाली रुपैयाँ बाहिरिएको हो। यस अवधिमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेलको आयातमा बाहिरिएको छ।

एक वर्षमा नेपालबाट डिजेलको आयातमा मात्र १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ। यसबापत नेपाल आयल निगमले राज्यलाई ६४ अर्ब ७१ करोड रुपैयाँ राजश्व बुझाएको छ। यस्तै यस अवधिमा ७१ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल, ६५ अर्ब ५५ करोड रुपैयाँको एलपीजी ग्यास, १५ अर्ब १५ करोडको हवाई इन्धन आयात भएको छ।

पेट्रोल आयातबाट राज्य कोषमा ३९ अर्ब ४ करोड, एलपीजी ग्यास आयात गर्दा १२ अर्ब २२ करोड, हवाई इन्धन आयातबाट ७६ करोड रुपैयाँ र मट्टितेल आयात बापत २० करोड ७१ लाख राजश्व संकलन भएको भन्सार विभागको तथ्यांक छ।